Breaking News
भरतपुर मेयर कप तीन दिवसीय क्रिकेटः २२३ रनको लक्ष्य पछ्याउँदै मकवानपुर

चितवन, चैत ११–
चितवनमा जारी प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली मकवानपुर २२५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरिरहेको छ ।
दोस्रो दिनको समाप्तीमा मकवानपुर ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । भोलि अन्तिम दिन जितका लागि मकवानपुरलाई १६५ रनको आवश्यकता छ भने उसको साथमा ५ विकेट रहेको छ । क्रिजमा आकाश घिमिरे ९ र सूर्वण भट्ट ५ रनमा अविजित छन् ।
चितवनका गौतम केसीले ७ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका छन् भने कृजन गुरुङले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।
पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भयो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।
३८ रनले लिड गरेको चितवनले दोस्रो इनिङमा १८६ रनमा अलआउट भयो । चितवनका लागि प्रतिक श्रेष्ठले ८३ र विकल गुप्ताले ३७ रन बनाए । मकवानपुरका रामनरेश गिरीले ३२ रन खर्चिदै ६ विकेट लिए भने पियुश शर्माले १४ ओभरमा ४२ रन खर्चिदै २ विकेट लिए । पहिलो इनिङमा गिरीले ५ विकेट लिएका थिए । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा जारी प्रतियोगिता भोलि (शनिबार) सम्म चल्नेछ । त्यसलगत्तै भरतपुर मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगितालाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरेको छ भने चितवन जिल्ला क्रिकेट संघले सहयोगी भूमिका निर्वाह गरेको छ ।


























