रोचक

चोरेको ९ तोलामध्ये ४ तोला सुन ‘कुकर बम’ मा राखेर चोर्नेले नै गरे फिर्ता

Banner

धनगढी,चैत ११-

कैलालीको गोदावरी नगरपालिका १ अत्तरियास्थित नवीन शाहुको घर अगाडि गएको मङ्गलबार बिहानै प्लास्टिकको थैलो प्रेसर कुकर भेटियो । बाहिर लेखिएको थियो ‘खतरा’ । बम भएको भन्दै टोलमा एकाएक त्रास फैलियो ।

स्थानीयले प्रहरीलाई खबर गरे । उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइयो । नेपाली सेनाको टोलीले डिस्पोज गरेर हेर्दा त्यस भित्र सुनका गहना र केही नगद भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । उनका अनुसार जम्मा चार तोला सुन फेला परेको थियो ।

त्योसँगै कुकरमा एउटा पत्र समेत फेला पर्‍यो । पत्रअनुसार त्यो भेटिएको सुन र नगद घरधनी नवीन शाहुको थियो । प्रहरीका अनुसार शाहुको करिब ९ तोला सुन र नगद १ लाख रुपैयाँ गएको मंसिर १४ घरबाट चोरी भएको थियो । घरमा कोही नभएका बेला राति ताला फोडेर घरमा चोरी भएको त्यसअघि शाहुले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

प्रेसरमा राखिएको सुन र नगद पनि उनकै भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । प्रेसर कुकरमा भेटिएको पत्रमा शाहुलाई सुझावसमेत दिइएको छ । प्रहरीका अनुसार पत्रमा शाहुलाई सबैको मान मर्यादा राख्न र समाजमा मिलेर बस्न सुझाव दिइएको छ । शाहुले इलाका प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>