Breaking News

अघि बढ्यो मुग्लिन-नागढुंगा सडकको ठेक्का, तीन वर्षमा निर्माण सकिने

Banner

चितवन,चैत १०-

तीन वर्षभित्र सक्ने योजनासहित मुग्लिन-नागढुंगा सडकको टेण्डर प्रक्रिया अघि बढेको छ। सडक विभाग अन्तर्गतको विकास सहायता महाशाखाका अनुसार विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा मुग्लिन-नागढुंगा सडकको टेण्डर गरिने भएको हो।

९५ किलोमिटर मुग्लिन-नागढुंगा सडकलाई चार लेनसम्म विस्तार गरी स्तरोन्नति गर्ने गरी विभागले टेण्डर प्रक्रिया अघि बढाएको छ । महाशाखाका अनुसार सडक तीन वटा खण्डमा विभाजित गरी निर्माण योजना बनाइएको छ। तीनमध्ये दुई खण्डको टेण्डर अन्तिम चरणमा पुगेको छ।

दुबै खण्डका लागि चिनियाँ कम्पनी र नेपाली कम्पनी ज्वाइन्टभेन्चर ठेक्का प्रतिस्पर्धामा छानिएका छन्। पहिलो खण्डमा नागढुंगा-नौबिसे १२.२६ किलोमिटर पर्छ। उक्त खण्डको लागि जियाङ्सु-सगुन जेभीलाई दिने तयारी छ।

उक्त जेभीले १ अर्ब ३१ करोड रुपैयाँमा उक्त खण्ड सक्ने गरी आर्थिक प्रस्ताव स्वीकृत भएको महाशाखा प्रमुख रामहरि घिमिरेले बताए। दोस्रो खण्ड अन्तर्गत नौबिसे-मलेखु ४३.५४२ किलोमिटर पर्छ। उक्त खण्डको लागि शर्मा-लामा-जेड्आइसिजी जेभी कम्पनीलाई दिने तयारी छ।

घिमिरेका अनुसार पहिलो खण्डको लागि १८ र दोस्रो खण्डका लागि १२ वटा निर्माण कम्पनीले टेण्डर भरेका थिए। तीमध्येबाट यी दुई कम्पनी प्रतिस्पर्धामा छानिएका हुन्।

यो सडकले प्रदेश-३ को काठमाडौं, धादिङ र चितवन जिल्ला जोड्छ। काठमाडौंको नागढुंगा चेकपोस्टबाट सुरू भएर नौबिसे, खानीखोला, महादेवबेंसी, गल्छी, बैरेनी, मलेखु बेनीघाट, कुरिनटार हुँदै चितवनको मुग्लिन आइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>