चितवन विशेष
चितवनमा ज्ञानेन्द्र शाही नेतृत्वको हामी नेपाली हाम्रो नेपाल अभियानका १०५ जना राप्रपा प्रवेश

चितवन,चैत ८-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले राष्ट्रवादी शक्ति एक नभए देश नै नरहने अवस्था रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले अब आउने निर्वाचनमा राष्ट्रवादी दललाई छनोट गर्नुपर्ने बताउनुभएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिदै गरिएको भन्दै उहाँले नेता कार्यकर्ताहरुलाई सशक्त भएर स्थानीय स्तरमा लागिपर्न आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरुलाई आ–आफ्नो टोलमा गएर राप्रपाले गरेका कामको प्रचार गर्न अनुरोध गर्नुभयो । पाण्डेले विभिन्न दलले विगत ३१ वर्षसम्म राष्ट्र सञ्चालन गर्दा देश दयनीय अवस्थामा पुगेको बताउँदै अब नयाँ राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

राप्रपाप्रति जनलहर आएको भन्दै उहाँले सच्चा युवाहरुलाई देश निर्माणमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । राप्रपाका सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले स्थानीय तहमा निर्वाचित हुने कार्यकर्तालाई इमान्दारिपूर्वक काम गर्न सुझाव दिनुभयो । निर्वाचित भएपछि पदको दुरुपयोग गर्न नहुनेमा जोड दिनुभयो ।
यसैबीच ज्ञानेन्द्र शाही नेतृत्वको हामी नेपाली हाम्रो नेपाल अभियान राप्रपाको केन्द्रमा समायोजन भएपछि चितवनमा पनि भएको छ ।
शाहीको नेतृत्वमा रहेका १०५ जना युवाहरु पार्टी प्रवेश गरेको जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो । राप्रपा जिल्ला अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सहमहामन्त्री प्रेम बलायर, केन्द्रीय सदस्य मिना न्यौपाने, वाग्मती प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामा, वाग्मती प्रदेश सहसचिव माधव भट्टराई, पूर्व केन्द्रीय सदस्य रामहरि कँडेल, जिल्ला उपाध्यक्ष चेतनाथ वाग्ले लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


























