चितवन विशेष
प्रगतिशील लेखक संघ चितवनको अध्यक्षमा बराल

चितवन,चैत ५-
वामपन्थी साहित्य सर्जकहरुको संस्था प्रगतिशील लेखक संघको चितवन जिल्ला अध्यक्षमा माडीका युवा सर्जक एवं शिक्षक विकास बराल चयन हुनुभएको छ ।
भरतपुरस्थित नारायणी नमूना माविको सभाहलमा सम्पन्न सातौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा बराल चयन हुनुभएको हो । बराल माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा शिक्षण समेत गर्नुहुन्छ । त्यसैगरी जिल्ला उपाध्यक्षमा माडीलाई कर्मक्षेत्र बनाउनुभएका शिक्षक एवं सर्जक राजु आचार्य ‘दीप’ चयन हुनुभएको छ ।
उहाँ हाल जनकल्याण माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ । त्यस्तै, सचिवमा आकाश पौडेल, सहसचिवमा सुप्रदिप्ती भण्डारी र कोषाध्यक्षमा विदुर अधिकारीसहित १५ सदस्यीय जिल्ला समिति चयन भएको छ । निवर्तमान अध्यक्ष विपिन पाठकको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा प्रलेसका सल्लाहकार ईन्द्र रेग्मी, जनसाँस्कृतिक महासंघका अध्यक्ष रामहरि श्रेष्ठ, साहित्य संगम चितवनका उपाध्यक्ष राजेन्द्र घायल, चितवन साहित्य परिषद्का सचिव बालकृष्ण थपलिया, प्रगतिशील साहित्यकारहरु डि.आर. पोखरेल, रणेन्द्र बराली, होमनाथ सापकोटा, धनेश्वर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार कृष्ण आचार्य,साहित्यकार धनेश्वर भट्टराई,डाक्टर सुवास बस्नेत र रन्जना लिम्बुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।




























