Breaking News
बागमती प्रदेश खेलकुदः पुरुष क्रिकेटमा ललितपुर र काभ्रे विजयी

चितवन, चैत ३–
चितवनमा जारी बागमती प्रदेश खेलकुद अन्तरगत पुरुष क्रिकेट प्रतियोगितामा ललितपुर र काभ्रे विजयी भएका छन् ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेलकुद मैदानमा आज भएको पहिलो खेलमा ललितपुरले दोलखा र काभ्रेले सिन्धुपाल्चोकलाई पराजित गरेको हो ।
पहिलो खेलमा ललितपुरले दोलखालाई सुपर ओभरमा पराजित गरेको हो । दुवै टिमले निर्धारित २० ओभरमा समान १४९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दोलखाले १४ रनको लक्ष्य दिएको थियो ।
यसअघि खेलमा टस जितेर पहिले व्याटिङ गरेको ललितपुरले ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि पदमबहादुर सुनारले ३३ बलमा ३७ र फसिद खानले ३० बलमा ३५ रन बनाए । दोलखाका लागि सुजन श्रेष्ठ र सक्षम काफ्लेले समान २÷२ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याएको दोलखा ९ विकेटको क्षतिमा १४९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । दोलखाका लागि सक्षम काफ्लेले २५ बलमा ४४ रनको विष्फोटक पारी खेलेका थिए । अनमोल खड्काले २३ बलमा ३१ रन बनाए ।
ललितपुरका लागि फसिद खानले ३ र आदिल खानले एक विकेट लिए ।
यस्तै आजै भएको दोस्रो खेलमा काभ्रेले सुवास खकुरेलको शतकीय पारीमा सिन्धुपाल्चोकलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । १५८ रनको लक्ष्य पछ्याएको काभ्रे १२.१ ओभरमा मात्र एक विकेट गुमाउँदै पुरा गरेको हो ।
उसका लागि खकुरेलले मात्र ४२ बलमा १०० रन बनाए । उनले ७ चौका र ९ छक्का प्रहार गरे । विवेक राना मगरले २७ बलमा ३४ रन बनाए । उनले ६ चौका प्रहार गरे ।
सिन्धुपाल्चोकका लागि सुसन चौलागाईले ३ ओभरमा २९ रन खर्चिदै एक विकेट लिए । खेलमा शतक प्रहार गरेका खकुरेल प्लेयर अफ दि म्याच घोषित भए ।


























