चितवन विशेष

भरतपुर महानगरले सहकारीलाई अनुदानमा दियो तोरी मिलदेखि खसी बाख्रासम्म

Banner

चितवन,चैत २-

भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप विभिन्न सामग्री प्रदान गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीहरुलाई समग्री हस्तान्तरण गर्नुभएको हो । महानगरपालिका भित्रका सात वटा सहकारीहरुले भरतपुर महानगरबाट अनुदान स्वरुप १७ लाख रुपैयाँ बराबरको सामग्री पाएका हुन् । महानगरपालिकाले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई ५÷५ लाख रुपैयाँ बराबरको तोरी मिल प्रदान गरेको छ ।

त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाख रुपैयाँको सामग्री, नव सुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई एक लाख ५० हजार रुपैयाँको कम्प्युटर ईन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई एक लाख रुपैयाँको कम्प्युटर र प्रिन्टर महानगरपालिकाले प्रदान गरेको हो । त्यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई १ लाख रुपैयाँको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले बताउनुभयो ।

महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा राम्रो गरेका सहकारीहरुको स्तर विकासका लागि महानगरले पनि सहकारीहरुलाई यो सहयोग प्रदान गरेको महानगर प्रमुख रेनु दाहालको भनाइ छ । सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरुले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख पार्वती शाह ठकुरीले बताउनुभयो । अनुदान स्वरुप सामग्री पाएपछि सहकारीकर्मी खुसी भएका थिए ।

भरतपुरका २० महिलालाई बोका,बाख्रा प्रदान

भरतपुर । भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले वडा नम्बर–९ का २० जना महिलाहरुका लागि बीउ पूँजी हस्तान्तरण कार्यक्रम अन्तरगत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागि नगद हस्तान्तरण गरेको छ ।

भरतपुर महानगरपालिकाले व्यवसायिक रुपमा बाख्रा पालनका लागि बाख्रा र बोका हस्तान्तरण गरिएको जनाएको छ । त्यस्तै कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागि बीउ पूँजीस्वरुप प्रति व्यक्ति नगद १० हजार रुपैयाँ प्रदान गरिएको महिला विकास निरीक्षक अप्सरा घिमिरेले बताउनुभयो । उनीहरुलाई तीन दिने सीप विकास तालिम दिएर उनीहरुकै माग अनुसार बीउ पूँजी दिइएको महानगर प्रमुख रेनु दाहाले बताउनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत महानगरका २०० महिलालाई बीउ पूँजी हस्तान्तरण गरिने दाहालको भनाइ छ । भरतपुर–९ का वडा अध्यक्ष यमलाल कँडेलले आफ्नो वडाका महिलाहरुको आर्थिक स्थिति सवल बनाउन आफूले धेरै राम्रा कार्यक्रमहरु गरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>