चितवन विशेष
भरतपुरका ४४ विद्यार्थीलाई आदर्श छात्रवृत्ति वितरण

चितवन, फागुन ३०–
विभिन्न घटनामा परेका ४४ जना छात्रालाई आदर्श छात्रवृत्ति वितरण गरिएको छ । हिंसा प्रभावित, द्धन्द्ध प्रभावित, गरिब तथा जेहेन्दार गरि ११ विद्यालयका ती छात्राहरुलाई आदर्श नारी विकास केन्द्र चितवनले सो छात्रवृत्ति वितरण गरेको हो ।
११२औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर केन्द्रले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कम अवसर प्राप्त ती छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । उनीहरुलाई झोला, स्कुल पोशाक, कपिकलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
८ वर्षदेखि निरन्तर वितरण गर्दै आएको छात्रवृत्ति हालसम्म ४४८ जनाले प्राप्त गरिसकेको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । सबै प्रकारका घरेलु हिंसा, मानव बेचविखन, बलात्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि विगत ३० वर्षदेखि अभियान चलाईरहेको आदर्श नारी विकास केन्द्रले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । यस संस्थाले महिला तथा बालबालिका माथि हुने हिंसा, शोषण, दमन र अन्यायकोविरुद्ध निरन्तर अग्र स्थानमा रही खबरदारी गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले आदर्श नारीले सामुदायिक विद्यालयको शिक्षा सुधारमा खेलेको भूमिका प्रंससायोग्य भएको बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि महानगर, आदर्श नारी जस्तो संस्थासंग समन्वय गरेर अगाडी बढ्न तयार भएको उहाँको भनाई थियो । आर्थिक अभावका कारण पढाई छोड्न बाध्य बालबालिकालाई लक्षित गरी महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई महानगर छात्रवृत्तिको काम शुरु गरेको पौडेलले जानकारी समेत दिनुभयो ।
कार्यक्रममा शिक्षक कल्पना पन्तले सामुदायिक विद्यालयका छात्राहरुलाई केन्द्रित गरि छात्रावृत्ति वितरण गर्दा छात्राहरुको शैक्षिक प्रोत्साहनमा थप टेवा पुगेको बताउनुभयो । वडा नम्बर ४ अध्यक्ष हरिप्रसाद पोख्रेल आदर्श छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।
संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले कुनै पनि बालबालिका आर्थिक अभावका कारण पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले छात्रवृत्ति कार्य अघि बढाइएको बताउनुभयो ।
यसैबीच, सोही अवसरमा आदर्श नारी विकास केन्द्रको विधानअनुसार गठित आदर्श नारी कालिका नगर समन्वय सम्पर्क समितीलाई सम्वन्धन पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष मीना खरेलले संम्पर्क समितीका संयोजक अर्पणा दुवाडीलाई भरतपुर नगर शिक्षा अधिकारीको रोहवरमा सम्बन्धन पत्र हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रम संस्थाकी सचिव पृथ्वीदेवी सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा भरतपुर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुशिला वाग्ले, कार्यपालिका सदस्य पवित्रा केसी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


























