चितवन विशेष
चितवनका युवा पत्रकार काफ्लेलाई आर्थिक पत्रकारिता पुरस्कार

चितवन, फागुन २८–
चितवनका युवा पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उद्योग वाणिज्य संघ–चितवनले शनिबार ५५औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा काफ्लेलाई नगद पुरस्कारले पुरस्कृत गरेको हो ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरेका थिए । पुरस्कार राशी ५१ हजार रुपैयाँ रहेको छ । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
माडी–१ का स्थायी बासिन्दा काफ्ले भरतपुरलाई कार्यक्षेत्र बनाएर २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनमा उनी सक्रिय छन् । हाल उनी कालिका एफएममा समाचार प्रमुख र कारोबार दैनिकको चितवन संवाददाताको रुपमा कार्यरत छन् ।
उनी नेपाल पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य, नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत हुन् ।


























