चितवन विशेष
उवासंघ–चितवन निर्वाचनः सबैको नजरमा कान्छा उम्मेद्वार महादीप श्रेष्ठ

चितवन, फागुन २७–
उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वको निर्वाचन यही सोमबार (फागुन ३०) गते हुँदैछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, उद्योगतर्फको सदस्य सर्वसम्मत चयन भए पनि अन्य पदमा निर्वाचन हुने भएको छ ।
निर्वाचनको तयारी भइरहँदा अहिले सबैको नजरमा कान्छा उम्मेद्वार महादीप श्रेष्ठ परेका छन् । वाणिज्यतर्फको कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएका श्रेष्ठ अहिले ३१ वर्षका छन् । यसरी हेर्दा चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वार मध्ये महादीप कान्छा उम्मेद्वार हुन् । छोटो समयमा व्यवसायिक सफलता हासिल गरेकाले पनि उनी सबैको नजरमा परेका छन् । माडी–१ बरुवाका स्थायी बासिन्दा श्रेष्ठ हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायमा अब्बल छन् ।
१८ वर्षको उमेरदेखि उनी व्यवसायमा नेतृत्वदायी भूमिका रहँदै आएका छन् । पेयपदार्थ कोकाकोलाको १३ वर्षदेखि अधिकृत बिक्रेता, मारुती सुजुकीको क्षेत्रीय बिक्रेता, अप्टिकल फाइबर सम्बन्धि कारोबारबाट स्थापित नाम हो महादीप । ट्याक्टर डच फायरको बागमती प्रदेश र गण्डकीका लागि आयतकर्ता समेत रहेका महादीप व्यवसायिक दक्षतासंगै संघसंस्था कसरी संचालन गर्न सकिन्छ भन्नेमा पनि अनुभवी छन् ।
लियो क्लब अफ नारायणगढ दियालोका पूर्वअध्यक्ष, रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउनका पूर्वअध्यक्ष, लियो जिल्ला परिषद ३२५ बीटुका पूर्व एरिया कोर्अडिनेटर, जेसीज माडीका संस्थापक सदस्य रहेकाले पनि उनलाई नेतृत्वमा आउन सहज भएको छ । उनी नारायणी कला मन्दिरका सदस्य पनि हुन् ।
घरपरिवारनै व्यवसायमा स्थापित भएकाले श्रेष्ठ सानैदेखि व्यवसायमा रुचि राखेर अघि बढेका युवा हुन्। उनी चितवनका सबै व्यवसायी माझ लोकप्रिय छन् । त्यसैले आफ्नो पक्षमा सर्वाधिक मत आउनेमा उनी विश्वस्त छन् । ‘सबैको माया पाएको छ, मैले सिकेका कुराहरुलाई संघमा उपयोग गर्छु, व्यवसायिक हकहितका लागि सदैव लड्छु’–श्रेष्ठले भने ।
उनले युवाहरुको एजेन्डा स्थापित गर्नुको साथै चितवनको व्यवसाय क्षेत्रलाई बलियो र भएका समस्या समाधानका लागि अग्रपंक्तीमा रहेर काम गर्ने प्रतिवद्धता जनाए । श्रेष्ठले उम्मेद्वारी दिएको वाणिज्यतर्फको सदस्यमा ६ जनाका लागि १२ जनाको उम्मेद्वारी परेको छ ।


























