चितवन विशेष

चितवनको रत्ननगरमा ३० करोड लगानीको वाटर किङडम निर्माण सुरु

Banner

चितवन,फागुन २५-

चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा ३० करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने भएको छ । नगरपालिकाका मेयर नारायण वनले वाटर किङडमको शिलान्यास गरे । झुवानी माविले संरक्षण गर्दै आएको तीन बिघा क्षेत्रफलमा सार्वजनिक/निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले जानकारी दिए ।

पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए । पार्कमा सरकारको ४ करोड ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ । सरकारी लगानीबाहेक वाटर किङडम निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयको अपनत्व बढाउन एक घर एक शेयरको अवधारणा ल्याइएको छ ।

पहिलो वडाबासी, दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरी व्यक्तिका लागि प्राथमिकताका आधारमा शेयर खुल्ला गरिनेछ । वाटर किङडम निर्माणका लागि झुवानी माविसँग २५ वर्षसम्म जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठा प्रतिवर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालयबीच सम्झौता गरिएको उनले बताए । यो चितवनमै अत्यधुनिक र सुविधासम्पन्न वाटर किङडम हुने नगरपालिकाको दाबी छ ।

वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना नगरपालिकाको छ । वडा–५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम आफ्नै भएको आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारणा अघि सारिएको बताए । ‘पैसा हुनेले सजिलै शेयर हाल्नुहुन्छ,’ उनले भने, ‘नहुनेलाई हामी काम दिन्छौं र त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौं ।’

पर्यटक आकर्षण केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि ६० वर्षपछि झुवानीमा खुसी फर्किएको छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो । अब वाटर किङडमले झुवानीलाई चिनाउनेछ ।’ कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, झुवानी माविका पूर्वअध्यक्ष जोगेन्द्र महतोलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>