Breaking News
एमसीसी पास गरेको भन्दै माओवादी कार्यकर्ता आक्रोशित, प्रचण्डले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने

काठमाडौं,फागुन १६-
नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौता संसद्बाट पारित गर्न माओवादी केन्द्रले साथ दिएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्। १२ बुँदे व्याख्यात्मक घोषणासहितको सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिएपछि उनीहरु आक्रोशित बनेका छन्।
व्याख्यात्मक घोषणालाई प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘फेस सेभिङ’का रूपमा रहेको व्याख्या भइरहेको छ। माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न निर्णायक सहमति गरे। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने औपचारिक निर्णय गरेको थियो। त्यसपछि अध्यक्ष दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए। प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची बनाइएको थियो। गठबन्धन दलबीच औपचारिक समझदारी बन्यो र बैठकबाट पारित भयो।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई प्रस्तुत गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो।
कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमा एमसीसी पास गर्न माओवादीले साथ दिएकाले पार्टी छाडेको अभिव्यक्ति दिन थालेका छन्। एमसीसी सम्झौता अनुमोदन गर्न पार्टीले सघाएको भन्दै जनप्रतिनिधिले समेत नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन्। जनतासँग माफि मागेर स्थानीय जनप्रतिनिधिले राजीनामा दिने घोषणासमेत गर्न थालेका छन्। कार्यकर्ता प्रचण्डविरुद्ध खनिन थालेपछि प्रचण्ड सचिवालयले एमसीसीको विषयमा विशेष सम्बोधन हुने जनाएको छ। प्रचण्डको स्वकीय सचिव एवम् छोरी गंगा दाहालले नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध भ्रम पैदा गराउन खोजिएकाले सचेत हुन आग्रह गर्दै एमसीसी लगायत विकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने उल्लेख गरेकी छन्।
























