चितवन विशेष
एमाले माडी नगर कमिटीको कार्यालय उद्घाटन

चितवन,फागुन १५-
नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको पार्टी कार्यालय र माडी वडा नं ३ को पार्टी कार्यालय शनिबार संयुक्त रुपमा उद्घाटन गरिएको छ । पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य जे एन थपलियाले नेकपा एमालेले अगाडि सारेका विकास र समृद्धिका योजनाअनुसार अगाडि बढ्न सकेमा मात्र देशका तमाम समस्या समाधान हुने बताउनुभयो ।
अहिले नेकपा एमालेमाथि चौतर्फी प्रहार भइरहेको भए पनि जनताको अगाडि लोकप्रिय बन्दै गएको जनाउँदै केन्द्रीय सदस्य थपलियाले अबका सबै निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने भएकोले जनताको घरदैलोमा पुगेर समस्यालाई सम्बोधन गर्न नगर कमिटीलाई निर्देशनसमेत दिनुभयो ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका चितवन जिल्ला सचिव प्रकाश खनाल शैलेस, उप सचिव प्रकाश ढुङ्गाना माडी नगर कमिटीका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यालय उद्घाटन कार्यक्रम अगाडि नेकपा एमाले माडी नगर कमिटिको बैठक पनि सम्पन्न भएको थियो । वैठकले १४ सदस्यीय सचिवालय पनि गठन गरेको छ भने फागुन मसान्तभित्र टोल टोलमा एमाले अभियान सम्पन्न गर्ने निर्णय भएको नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।


























