चितवन विशेष

चितवनमा सहाराविहीनको सहारा बन्दै ‘हाम्रो दृष्टि राम्रो दृष्टि’

Banner

पूजा ढकाल,

चितवन,फागुन ९-

चितवनमा ‘हाम्रो दृष्टि राम्रो दृष्टि’ संस्था समाजमा सहाराविहीन तथा असहाय विपन्न परिवारको सहारा बन्दै आएको छ । संस्थाले देशमा उत्पन्न भएको विभिन्न कठिन परिस्थितिको समयमा विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएको छ ।

जिल्लामा रहेका गरिब विपन्न परिवारलाई सेवा गर्ने नाराको साथ उक्त संस्था सञ्चालन गरिएको हो । संस्थाका अध्यक्ष अरुण पौडेलकाअनुसार संस्थाले जिल्लामा रहेका अति विपन्न परिवारलाई हरेक वर्ष सहयोग गर्दै आएको छ । उक्त संस्थाले चितवनका विभिन्न पहाडी भूभागमा रहेका चेपाङ बालबालिका तथा पिछडिएका परिवार सहयोग गर्दै आएको छ । उहाँकाअनुसार यस वर्ष भने संस्थाले कोरोना तथा आर्थिक अभावका कारण चितवन र आसपासका क्षेत्रमा पहिलेको जस्तो सहयोग गर्न पाएन ।

तर, यस वर्ष पनि संस्थाले एकल महिलालाई जाडोको याममा सहयोग गरेको तर गत वर्षको जस्तो धेरै सर्वसाधारणलाई सहयोग गर्न नपाउँदा पौडेलले दुःख व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘विगतका वर्षमा जाडो माहिना लाग्नासाथ संस्थाले मंसिरदेखि वैशाखसम्म नै समाज सेवाको काम गर्ने गरेको थियो ।’ पौडेलकाअनुसार गत वर्ष भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका बालबालिका तथा अतिविपन्न परिवारलाई सहयोग गरिएको थियो । सो समय संस्थाले सञ्चालन गरेका उक्त सहयोग कार्यक्रमबाट झण्डै ४०० बालबालिका तथा सर्वसाधारणलाई राहत पुगेको थियो ।

त्यस्तै संस्थाले विश्व माहामारीको रुपमा फैलिएको कोरोनाका कारण जिल्लामा लकडाउन हुँदा समेत खान नपाएका मानिसका लागि ‘हामी छौँ नि’ अभियान सञ्चालन गरेको पौडेलको भनाइ छ । सो अभियानमा भरतपुर महानगरपालिका, कालिका नगरपालिका, देवघाट र रत्नगर नगरपालिकाका झण्डै ३५० घरलाई सहयोग गरेको थियो । विशेष सहयोग रुपमा चेपाङ परिवार गरिब तथा अतिविपन्न परिवारलाई राखिएको उहाँको भनाइ छ ।

विसं २०७३ सालमा सञ्चालन भएको तर २०७५ साल वैशाख १२ गते दर्ता भएको यस संस्थाले पछिल्लो दिन सहयोगको रकम नयाँ सदस्यता शुल्क, कार्यसमितबाट मासिक बचतको रुपमा उठाइएको १०० रुपैयाँ, साधारण सदस्यबाट प्रत्येक महिना ५० रुपैयाँ उठाउने गरेको र विगतका समयमा जापानबाट पनि केही रकम सहयोग रुपमा आउने गरेको उहाँले बताउनुभयो । तर, पछिल्लो समय कारोनाको कारण कार्यक्रम सञ्चालन गर्न नपाउँदा पहिलेको जस्तो विभिन्न क्षेत्रबाट कुनै सहयोग आएको छैन ।

त्यस्तै, अबको १०/१५ दिनपछि संस्थाले महानगरपालिका भित्र रक्तदान कार्यक्रम अन्य संस्थासँग मिलेर ३/४ दिनसम्म सञ्चालन गर्ने लक्ष्य रहेको छ । तर, कालिका र रत्ननगरमा भने यस संस्थाको शाखा भएकोले रक्तदान कार्यक्रम सुरु भइसकेको छ । त्यस्तै ‘सपनाको झोला’ अन्तरगत बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने योजना समेत संस्थाको रहेको छ ।

विगतका वर्षमा संस्थाले जिल्ला र जिल्ला आसपासका क्षेत्रमा सरसफाइको काम गर्दै आएको थियो भने बलात्कारमा परेका बालबालिकाहरुको लागि पनि आवाज उठाउने गरेको थियो । तर, अहिले कोरोनाका कारण सबै गतिविधिहरु रोकिए पनि अब रोकिएका ती कामलाई विधानअनुसार नै निरन्तर अगाडि बढाउँदै जिल्लामा बलात्कृत भएका बालबालिका विरुद्ध आवाज उठाउँदै, भ्रष्टाचार तथा सामाजिक सुधारलाई मध्यनजर गरेर काम गर्ने पौडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>