Breaking News
प्रचण्ड-नेपाल भेटः एमसीसीबारे प्रधानमन्त्रीसँगको छलफलमा समान धारणा राख्ने सहमति

काठमाडौं,फागुन ५-
सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजनाबारे समान धारणा राख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा धारणा राख्ने बताए ।
नेताहरूको जिब्रो खुकुलो हुन्छ भनेर फुत्काउन खोज्नुभएको होला धेरै बोलेर बिग्रियो । अब प्रधानमन्त्रीसँगै कुरा राख्छौँ, उनले ठट्टा गर्दै भने । गठबन्धनका शीर्ष नेताहरूबीच साँझ पाँच बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुँदैछ । माओवादी केन्द्रले एमसीसीमा कांग्रेसले जबर्जस्ती गरे सरकार छोड्ने चेतावनी दिइसकेको छ भने एकीकृत समाजवादी पनि संशोधनबिना अघि बढाउन नहुने अडानमा छ ।
























