चितवन विशेष
चितवनमा ६० प्रतिशत उम्मेद्वारले बुझाएनन् स्थानीय तहको निर्वाचन खर्च विवरण

प्रतिमा कुमाल,
चितवन फागुन ५-
चितवनका ६० प्रतिशत उम्मेदवारले निर्वाचन कार्यालयमा अझैपनि चुनावको खर्च विवरण बुझाएका छैनन् । साढे चारबर्ष अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेकाहरुले अझैपनि खर्च विवरण नबुझाएका हुन् ।
जिल्लामा यसअघिको स्थानीय तहको निर्वाचनमा साना ठूला दलबाट ५ सय २४ जना उम्मेद्वार बनेका थिए । उनिहरु मध्य ६० प्रतिशतले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिनुभयो । कुन दलका उम्मेद्वारले खर्च विवरण बुझाएनन् भन्ने कुरा जानकारी दिन नमिल्ने उहाँको भनाई छ ।
खर्च विवरण नबुझाएकाहरुले फेरी उम्मेद्वारी दिन पाउने कि नपाउने भन्ने विषयमा आफुलाई जानकारी नरहेको उहाँले बताउनुभयो । ‘कार्यालयमा बेरुजु भएको देखिएको छ भने उहाँहरु उम्मेद्धार हुन नपाउने भन्ने सुन्नमा आएको छ तर, हामीलाई लिखित रुपमा परिपत्र गरिएको छैन’,उहाँले भन्नुभयो । खर्च विवरण नबुझाउनेले उम्मेद्वार हुन नपाउने भन्ने विषयमा निर्वाचन आयोगले निर्देशिका ल्याएको तर स्वीकृत नभएको कार्कीले जानकारी दिनुभयो ।
चितवनमा ४ लाख मतदाता
जिल्ला निर्वाचन अधिकृत कार्कीका अनुसार चितवनमा मतदानका लागि योग्य मतदाता ४ लाख छन् । ४ लाख ४ हजार ७ सय ६३ मतदाता नामावली संकलन भएकोमा योग्य मतदाता ४ लाखमा झर्नसक्ने उहाँले बताउनुभयो । १६ वर्ष माथिका १८ वर्ष नपुगेका, चितवनबाट बसाई सरेर अन्यत्र गएका र यहाँ आएकालाई पनि समावेश गरेको कार्यालयले जानएको छ । नामावली अध्यावधिक गरेर आयोगमा पठाएको भन्दै उहाँले अन्तिम नामावली आउन बाँकी रहेको बताउनुभयो ।
निर्वाचन ऐन २०७३ को दफा ४ बमोजिम फागुन २० गतेबाट २६ गतेसम्म पालिका भित्रमा दाबी विरोध गर्न पाइनेछ । त्यसपछि मात्रै अन्तिम नामावली प्रकाशन हुनेछ ।
चितवनको भरतपुर महानगरपालिकामा १ लाख ८८ हजार ३ सय ४ जनाको मतदाता नामावली संकलन गरिएको छ । रत्ननगर नगरपालिकामा ५३ हजार ७ सय २२, खैरहनी नगरपालिकामा ४४ हजार ३ सय १७, कालिका नगरपालिकामा ३१ हजार ४ सय ३४, राप्ती नगपालिकामा ४१ हजार ४ सय ९, माडी नगरपालिकामा २९ हजार १ सय ३३ र इच्छाकामना गाउँपालिकामा १६ हजार ३ जना मतदाताको नामावली संकलन भएको छ ।


























