Breaking News

चितवनमा राष्ट्रिय परिचयपत्र लिन बिहानै दुई बजेदेखि लाइनमा बस्छन् सेवाग्राही

Banner

प्रतिमा कुमाल

चितवन, माघ २७-

राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राही बिहान दुई बजेदेखि लाइनमा बस्न बाध्य भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग इकाइ कार्यालय भरतपुर चितवनमा परिचयपत्र बनाउनेको घुइँचोलाई छिचोल्न सेवाग्राहीहरु कार्यालय खुल्नु भन्दा ८ घण्टा अगाडिनै आउने गरेका हुन् ।

यती बिहानै आउँदा पनि ७१ नम्बरमा पालो परेको सेवाग्राहीले बताए । भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरका सुमन दराइले भने, ‘माघ १५ गते आएँ, त्यसै फर्किए । हिजो माघ २६ गते बिहान चार बजे आएँ, पालो नै पाइनँ । आज एका बिहानै घरबाट निस्कँदा ७१ नम्बरमा परेको छु ।’

वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका दराइ राहदानी (पासपोर्ट) बनाउने तयारीमा छन् । राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको आवश्यक परेपछि उनी प्रशासन धाइरहेका छन् । राष्ट्रिय परिचयपत्रका कारण दुःख पाएको उनको भनाइ छ । ‘विद्युतीय राहदानी बनाउन आएको हो । त्यसको लागि राष्ट्रिय परिचयपत्र चाहिँदो रहेछ । नागरिकताले नहुने । यहाँकै एक जनाकर्मचारीले काठमाडौँ जान भनेर गएँ । तर, केही भएन फर्केर फेरि जिल्लामै धाइरहेको छु’,उनले भने ।

भरतपुर महानगरपालिका–६ की प्रिती महतोले आजभन्दा दुई दिन अगाडि बिहान दुई बजेबाट साँझ ५ बजे सम्म लाइनमा बसेर मात्रै फर्केको बताइन् । पालो नआएपछि आज फेरि आएको उनको भनाइ थियो । यस्तै भरतपुर महानगरपालिका–१० हाकिमचोककी रमा हुमागाईँ बिहान चार बजेबाट पालो कुरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट इकाइ कार्यालयमा खटिएका कमलनयन आचार्यले कार्यकक्षमा आउँदा सेवाग्राहीको लाइनलाई पन्छाउँदै भित्र छिर्नुपर्ने बताए । उनले भने, ‘सेवाग्राही कति बजे आए भन्ने हामीलाई थाहा हुदैन । तर, कार्यालय समयमा हामी आउँदा उनीहरु लाइनमा बसिरहेका हुन्छन् ।’ कार्यालयमा टोकनको व्यवस्था नभएकाले सेवाग्राही आफैँ मिलेर बस्ने गरेको उनले बताए । सोहीअनुसार सेवा दिएको उनको भनाइ छ ।

आचार्यले विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले भीड बढेको बताएका छन् । कार्यालयले दैनिक १०० जनाको फारम भर्ने गरेको छ ।

 चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भीडभाडको कारण कोरोना संक्रमण फैलने डरले पनि काम ढिला भएको बताएका छन् । उनले भने, ‘कोरोना भाइरसको तेस्रो संक्रमण तीव्ररुपमा फैलदा कार्यालयनै बन्द गर्नुप¥यो । कार्यालय बन्द हुँदा केहीले कुर्नुप¥यो । खुल्ना साथ एकै पटक नयाँ–पुराना सेवाग्राही आउदा बारम्बार धाउनु परेको हो ।’

यस समस्याको निराकरण राष्ट्रिय पञ्जिकरण विभागले नै गर्ने बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग इकाइ कार्यालय भरतपुरमा कर्मचारी थप घट गर्ने क्षेत्र अधिकार प्रशासनलाई नभएको उनको भनाइ थियो । सेवाग्राहीलाई छिटोछरितो सेवा दिनका लागि पञ्जिकरणले नै दायरा बढाउनुपर्ने उनले बताए ।

साथै राष्ट्रिय परिचयपत्र नागरिकता भन्दा प्रभावकारी रहेको प्रमुख तामाङको ठहर छ । नागरिकता नेपाली नागरिक भएको प्रमाण मात्र भएको उनले बताए । राज्यले ल्याएको नयाँ पद्दतीअनुरुपको परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण रहने भएकोले व्यक्तिको सही पहिचान दिने उनको भनाइ छ ।

जिल्लामा २०७६ साल असार १६ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको थियो । हिजो माघ २६ गतेसम्म तीन लाख २५ हजार ८६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग इकाइ कार्यालय भरतपुरले जानकारी दिएको छ । अहिलेसम्म ६०६ जनाले परिचयपत्र लिइसकेका छन् । फाराम भरेपछि परिचयपत्र ढिलो आएकोले परिचयपत्र लिनेको संख्या कम भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>