चितवन विशेष
भरतपुरको सडकका ५० ड्रममा सेन्ट्रल कलेजले लगायो ट्राफिक सचेतना स्टिकर

चितवन, माघ २६ –
सेन्ट्रल कलेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुरका सडकहरुमा ट्राफिक सचेतना लेखिएका ड्रममा नयाँ स्टिकर टाँसेको छ ।
आज बुधबार भरतपुरको क्याम्सप गेटमा भएका ड्रममा नयाँ स्टिकर टाँसेर कार्यक्रमको सुरुवात गरिएको हो । एक हप्ताभित्रमा भरतपुरको रिङ्गरोडका मुख्य क्षेत्रमा रहेका ५० वटाभन्दा बढी ड्रममा नयाँ स्टिकर राखिने र केही स्थानमा थप गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइबी’ ले जानकारी दिए । सबै ड्रमहरु सेन्ट्रल कलेजले नै सहयोग गरेको हो। अहिले उक्त ड्रममा भएको स्टिकर फेर्ने काम गरिएको पौडेलले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले दुर्घटना नियन्त्रणका लागि यस्ता किसिमका सचेतनाका बोर्डहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । ट्राफिक प्रहरीहरु सबै ठाउँमा २४ सै घण्टा खट्न नसक्ने बताउँदै उनले यस्ता बोर्डले २४ सै घण्टा ट्राफिक सम्बन्धि सचेतना दिइरहने बताए ।

उनले ट्राफिक प्रहरी एक्लैको प्रयासले दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको बताए । त्यसैअनुरुप सहयोग गरेकोमा सेन्ट्रल कलेजप्रति ट्राफिक प्रमुख थापाले आभार प्रकट गरे ।
उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया,जापान,अमेरिका,क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीहरुका लागि भाषागत कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कलेजले खेलकुद,स्वास्थ्य शिक्षा लगायतका कामहरुमा विभिन्न निकायसंग सहकार्य गर्दै आइरहेको छ ।


























