Breaking News

प्रदेश १ मा आठ मन्त्री थपिँदै, मन्त्रीको संख्या १४ पुग्ने

Banner

विराटनगर,माघ २३-

प्रदेश १ सरकारले आज मन्त्रिपरिषद् विस्तार तथा औपचारिक मन्त्रालय विभाजन गर्दैछ । मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको सरकारले ८ जना मन्त्रीहरू बनाउँदैछ । गठबन्धनको सरकार टिकाई राख्नका लागि मन्त्रालय विभाजनसँगै मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो ।

गठबन्धन दलहरुबीच भागबन्डा मिलाउनकै लागि उनले हालको सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १३ सदस्यीय बनाउन लागेका हुन् । आज बिहान ११ बजे मन्त्रीहरूको सपथ गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। कोभिडको महामारीका कारण सीमित व्यक्तिहरूको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम राखिएको कार्यालयले जनाएको छ । आज हुने मन्त्रीहरूको सपथ ग्रहण पछि प्रदेश १ मा १३ सदस्यीय जम्बो मन्त्री मण्डल बन्ने छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसले ५ मन्त्रालयको दाबी गर्दै आएकोमा सोही अनुसार ५ जना मन्त्री दिइएको छ । पुराना २ मन्त्रीले कार्यभार सम्हालेका छन् भने ३ मन्त्रीले आज सपथ लिँदैछन् । प्रदेश १ मा सत्ता गठबन्धन भित्र नेपाली कांग्रेस पहिलो दल भएको कारण ५ मन्त्री र मन्त्रालय हुनुपर्ने अडान राख्दै आएको थियो ।

अहिले कांग्रेसले दुई मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय हिमाल कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय केदार कार्कीले सम्हाल्दै आएको छन्। नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा, प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगीलाई मन्त्रीमा सपथ ग्रहण गराइँदैछ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्री बन्ने पक्का भएको छ।

नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे मन्त्री बन्ने भएका छन् । घिमिरेलाई सरकारको प्रवक्ताको रूपमा बिना विभागीय मन्त्री बनाउन लागिएको स्रोतको दाबी छ । तत्काललाई १३ सदस्यीय मन्त्री मण्डल विस्तार हुनेछ । आज राज्यमन्त्री भने नियुक्त हुने छैनन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय नेकपा माओवादीका इन्द्र बहादुर आङ्बोले सम्हाल्दै आएका छन् । गठबन्धनभित्रको तीन सांसद रहेको दल जनता समाजवादीबाट भने यसअघि नै एक मन्त्री नियुक्त भइसकेका छन् । त्यस्तै लिम्बुवान सम्बद्ध संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एकमात्र सांसद पनि राज्यमन्त्री नियुक्त भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>