चितवन विशेष
चितवन फुटबल संघ र सेन्ट्रल कलेजको आयोजनामा रक्तदान कार्यक्रम,७५ जनाले रगत दिए

चितवन,माघ २२-
चितवन जिल्ला फुटबल संघ र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रनिङ प्रा.लिको आयोजनामा भरतपुरमा बृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडिको परिसरमा भएको रक्तदान कार्यक्रममा एक महिलासहित ७५ जनाले रगत दान गरेका छन् ।
बैदेशिक रोजगारीमा अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशहरुका विद्यार्थी पठाउँदै आएको सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रनिङ प्रा.लि ले विभिन्न सामाजिक काम गर्दै आइरहेको कलेजका प्रिन्सिपल यज्ञ विलास पोडेल (वाइबी)ले बताउनुभयो । उहाँले चितवन जिल्ला फुटबल संघसंगको सहकार्यमा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको र यसलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।

‘रक्तदान कार्यक्रम गर्न पाउँदा निकै आनन्द लागेको छ,उहाँले भन्नुभयो’,यस्ता कार्यक्रमले अकालमा धेरैको ज्यान जानबाट रोकिएको छ ।’ चितवनमा देशका सबै जिल्लाबाट नागरिकहरु उपचारका लागि आउने भएकाले यहाँ हुने कार्यक्रमले देशका सबै जनताले लाभ लिनसक्ने भनाई उहाँले राख्नुभयो ।
कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले रक्तदानका कार्यक्रमहरु नियमित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘रक्तदान नियमित गर्नुपर्छ,यसले हाम्रो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ उहाँले रक्तदान गरे स्वास्थ्यमा विभिन्न समस्या हुन्छ भनेर गरिएका प्रचारहरु भ्रम रहेको भन्दै त्यसको पछाडि नलाग्न सुझाब दिनुभयो । उहाँले चितवनमा हुने रक्तदानले देशभरबाट आउने हजारौं विरामीहरुको ज्यान बचाउने गरेको बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री हरी पोडेल, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की लगायतले बोल्नुभएको थियो ।



























