चितवन विशेष
चितवनमा चिसो झन् बढ्यो,तापक्रम ७ डिग्रिमा झर्यो

पुजा ढकाल,
चितवन,माघ १९-
चितवनमा चिसो झन् बढेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले चितवनमा अत्याधीक चिसो बढेको हो । यसबर्ष चितवनमा धेरै चिसो महसुश गरिएको सर्वसाधारणले बताएका छन् ।
एक साता अघिदेखि बढेको चिसोले जनजिवन प्रभावित बनेको छ । बजारमा चहलपहल कम भएको छ । न्यूनचापीय प्रणालीका कारण माघ लागेदेखि नै चितवनको मौसममा परिवर्तन आएको हो । विहान हुस्सु र दिउसो र साँझ चिसो हावा चल्ने गरेको छ । कहिलेकाँही दिउसोमा मधुरो घाम लाग्ने गरेको छ । चिसोले स–साना बालबालिका, दीर्घ रोगी तथा वृद्धवृद्धालाई धेरै समस्या हुने गरेको छ ।
भरतपुर विमानस्थलका बरिष्ठ अधिकृत तथा एयर कन्टोलर लिला श्रेष्ठका अनुसार आज (बुधबार) चितवनको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र हिजो (मंगलबार) ७ डिग्री सेल्सियसमा झरेको थियो ।
आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


























