मनोरञ्जन

नेपालमा सिक्स प्याक हिरोको चर्को खडेरी, ओरालो लागेका आर्यनलाई ‘लाखे’ ले जोगाउला ?

Banner

एजेन्सीको सहयोगमा
माघ १८
अभिनेता आर्यन अधिकारीलाई ‘नेपालको टाइगर श्राफ’ भन्ने गरिएको छ । बलिउड सुपरस्टार टाइगर श्राफको झल्को दिने शरीरका कारण अधिकारी प्रायः चर्चामा समेत रहन्छन् ।नेपालमा सिक्स प्याक हिरोको चर्को खडेरी रहेको अवस्थामा उनको आगमनलाई धेरैले आशातित नजरले हेरेका थिए । तर, डेब्यू फिल्म ‘के म तिम्रो होइन र ?’ नै पत्तासाफ हुँदा उनको करिअरलाई ठूलो धक्का पुग्यो ।

यद्यपि, डेब्यू फिल्म फ्लप भएपनि आर्यनले काम भने लगातार पाइरहे । ‘बाँध मायाले, बट्टरफ्लाई’ सँगै हिन्दी फिल्म ‘कड्के कमाल के’ मा काम गरेका उनको ‘जस्मिन’ नामक फिल्म प्रदर्शन हुनै बाँकी छ । तर, जति नै फिल्ममा अभिनय गरेपनि उनका लागि सफलता ‘आकाशको फल’ जस्तो भएको छ । लगातार फिल्मको असफलताले उनीमाथि निर्माता–निर्देशकको विश्वास गुमेको छ ।

फिल्मबाट अफर र सफलता दुवै नमिलेपछि केही समय अमेरिका बसेका उनी यतिबेला नयाँ फिल्म ‘लाखे’ का लागि नेपालमा छन् । विगत दुई हप्तादेखि छायांकन भइरहेको फिल्ममा नाम चलेका कलाकारहरुको ताँती छ । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, वर्षा राउतको मुख्य भूमिका रहेको फिल्ममा आर्यन ओझेलमा त पर्ने होइनन् ? भन्ने आशंका पनि जन्मिएको छ ।

उनको ओरोलो लागेको करिअर बचाउनका लागि यो फिल्म बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । सिक्स प्याक शरीर देखाएर जबरजस्ती हिरो बन्न खोजेको आरोप समेत खेपिरहेका उनलाई यसपटक अभिनयमा पनि प्रमाणित गर्नुपर्ने चुनौती छ । यसकारण ‘लाखे’ उनको अग्नीपरीक्षा हो भन्दा फरक पर्दैन । आर्यन पनि यो फिल्मले आफ्नो करिअर उकास्नेमा विश्वस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>