Breaking News

हात्तीको गोबरसहित भरतपुर महानगरमा विवेकशिल साझाको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

Banner

– प्रतिमा कुमाल
चितवन, माघ ११–
विवेकशील साझा पार्टी, चितवनले गरेको शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुल्चोक सडकमा लापारबाहिका कारण दुर्लभ एकसिंगे गैंडा मरेपछि पार्टीले आज भरतपुर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

महानगरको ध्यानाकर्षण गराउन गरिएको प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेको हो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्यत्र गएर प्रदर्शन गर्न भन्दै प्रदर्शनकारीलाई धकलेको थियो । दबाबका लागि महानगरको गेटमा राखिएको हात्तीको गोबर प्रहरीले फालेका थिए । वन्यजन्तु संरक्षणमा भरतपुर महानगरको ध्यानाकर्षण गराउन विज्ञप्तिसहित विवेकशील साझा पार्टीको टोली महानगर पुगेको थियो ।

गत आइतबार सडकको नालामा खसेर करिब १२ वर्षको भाले गैंडाको मृत्यु भएको थियो । प्रारम्भिक वातावरणीय परीक्षण प्रभाव मूल्याङ्कन नगरी रुख कटानको अनुमति दिएको, निकुञ्जसँग कुनै राय नलिई मध्यवर्ती क्षेत्रमा सडक निर्माण गरेको, वन्यजन्तुको सुरक्षामा ध्यान नै नदिई निमार्णको काम हुँदा वन्यजन्तु असुरक्षित भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनका क्रममा पूर्वाधारहरु वन्यजन्ुतका लागि पासो बन्दैछन्, हात्तीदेखि कमिलाका आवाज सरकाले सुन्नु पर्दैन ? लगायतका नारा लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शन गरिएको थियो ।

वन्यजन्तु संरक्षण जस्तो कुरामा ध्यानाकर्षण गराउँदा प्रहरी प्रशासनले गर्नुपर्ने सहयोग नगरेको विवेकशील साझा पार्टीका केन्द्रीय प्रवक्ता सरदराज पाठकको भनाइ छ । शान्तिपूर्ण प्रदर्शनमा धकालने, अन्यत्र निकायमा गएर कार्यक्रम गर भन्ने अधिकार प्रहरीलाई नभएको उहाँको भनाइ छ । निकुञ्जको जंगलभित्र विकास निर्माणको काम गर्दा समन्वय नभएको विवेकशील साझा पार्टी चितनका संयोजक प्रविन काफ्लेको भनाइ छ । उहाँले महानगरले गरेको विकासका काममको विरोधी नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “विकास निर्माणका काममा वन्यजन्तु संरक्षणमा उचित ध्यान भएन । निकुञ्ज, सडक विभाग, ठेकेदार र महानगरबीच उचित समन्वय भएको भए गैंडाको निधन हँुदैन थियो । महानगरको विकास विरोधि हामी होइनौ । जनप्रतिनिधि सँग हामीले प्रश्न सोध्ने अधिकार राख्छौँ । विकासमा सुशासन कायम हुनुपर्छ । सुसंस्कृत राजनीति निर्माण हुनुपर्छ ।”

चितवनमा सडकहरु विस्तार हुँदा दिनानुदिन दुर्घटनाहरु बढेको काफ्लेले बताउनु भएको छ । दुर्घटना रोक्न राज्य र स्थानीय सरकारले उचित सावधानी अपनाएर काम अगाडि बढाउनु पर्ने उहाँको भनाइ छ ।

काफ्लेले प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपप्रति पनि घोर आपत्ति जनाउनु भएको छ । देशमा देखिएको भ्रष्टाचार, सरकाले गरेको गल्तिको विषयमा बोल्ने नागरिकको हकअधिकार भएको उहाँको भनाइ छ । जनताको हकअधिकार र वन्यजन्तुको संरक्षणमा आवाज उठाउँदा बल प्रयोग हुनु प्रशासनबाट अपमान भएको उहाँले जिकिर गर्नुभयो । साथै उहाँले देशमा लोकतन्त्र आएको कस्को लागि हो ? भन्ने गम्भीर प्रश्न रहेको बताउनुभयो ।

पार्टीले प्रदर्शनकै क्रममा भरतपुर महानगरपालिकाकी उप मेयर पार्वती शाह ठकुरीलाई विज्ञप्ति बुझाएको थियो । विज्ञप्ति बुझ्दै ठकुरीले सडक निर्माणको क्रममा भएको लापरवाहीको कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखःद घटना भएको बताउनुभयो । यस विषयमा आन्तरिक छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । अबका दिनमा यस्ता घटना दोहोरिन नदिन महानगरले विशेष ध्यान दिने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>