खेलकुद

बिएफसी र एभरेष्ट सेन्ट्रल कलेज जिल्ला लिगको फाइनलमा

Banner

चितवन,माघ १०-

चितवन जिल्ला ए डिभिजन लिगको उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब भिड्ने भएका छन् । आज (सोमबार)भएको सेमिफाइनल चरणका खेलहरु जित्दै बिएफसी र एभरेष्ट फाइनलमा प्रवेश गरेका हुन् । बिएफसीले साबिक उपबिजेता रामपुर फुटबल क्लब रड्स तथा एभरेष्टले साबिक बिजेता सौराहा युवा समाजलाई पराजित गरेको हो ।

आज भएको पहिलो सेमिफाइनलमा बिएसफी टाईब्रेकरमा ५-३ ले विजयी भयो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे । रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका गोलरक्षक आदित्य गुरुङले बचाए ।

त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १-१ गोल भएको थियो । पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन ।

३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए। खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यस्तै आजको दोस्रो सेमिफाइनलमा एभरेष्टले साबिक बिजेता सौराहालाई टाईब्रेकरमा ४(३ ले पाखा लगायो । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा एभरेष्टका रोशन क्षेत्री, आशिष गजुरेल, जेबिन लामिछाने र कप्तान प्रेमबहादुर गुरुङले गोल गरे । पवन रेग्मीको प्रहार भने फ्रेमभन्दा बाहिर गयो ।

उता सौराहाका प्रकाश चौधरी, कप्तान मदन कृष्ण श्रेष्ठ र झेलेन्द्र चौधरीले गोल गरे । निशान पुनको प्रहार बारमा लागेर फर्कियो भने सञ्जय चौधरीको प्रहार एभरेष्टका गोल रक्षक रितेश गुरुङले बचाए । रितेश नै खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस अघि निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा सकिएको थियो । खेलको पहिलो मिनेटमा नै सुशन आले मगरले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । सुशनको उक्त गोल जारी लिगकै छिटो गोल हो ।

तर सौराहाको अग्रता धेरै बेर टिक्न सकेन । २४ औं मिनेटमा एभरेष्टका आशिषले बराबरी गोल गरे । लगत्तै २६ औं मिनेटमा सुधिर कुनार श्रेष्ठले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाए । उक्त अग्रता एक मिनेट पनि टिकेन । २७ औं मिनेटमा सौराहाका झेलेन्द्रले बराबरी गोल फर्काए ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगको फाइनल खेल १२ गते बुधवार दिउँसो १ बजे सुरु हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>