Breaking News

सडक डिभिजन भरतपुरको लापरबाही : मनपरी टेण्डर खुलाउँदा बाइपास सडकमा गन्जागोल, छोटो सडकमा तीन ठेकेदार

  • Logo
    app haru
  • ७ माघ २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ ७ –
सडक डिभिजन कार्यालय भरतपुरको लापरबाहीले गर्दा भरतपुरको बाइपास सडक ५ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

मनपरी टेण्डर खुलाउने, छोटो सडकमा पनि दुई वटा निर्माण व्यावसायी (ठेकेदार) लगाउने, एउटै सडकको विस्तारमा वर्षैपिच्छे मुड परिवर्तन गर्ने (योजना फेर्ने) सडक डिभिजनको परिपाटीले बाइपास सडक अझैसम्म पूर्णरुपमा सम्पन्न हुन सकेकोे छैन । सडक डिजिनका कर्मचारी काममा भन्दा पनि कमिशनमा केन्द्रित भएका कारण सडकको विजोग भएको आरोप लाग्दै आएको छ ।

भरतपुरको केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्म कुल साढे ४ किलोमिटर रहेको बाइपास सडकको विस्तारमा आधाआधा खण्ड गरी दुई वटा निर्माण कम्नपनीलाई जिम्मा दिइएको छ ।

सुरुमा बाइपासलाई विस्तार गरी दुई लेनको बनाउने भनिएको थियो । जसअनुसार बस टर्मिनलदेखि आँपटारीसम्म एउटै ठेकेदारलाई जिम्मा दिइयो । गौरी पार्वती निर्माण सेवासँग २०७३ पुसमा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार गौरीपार्वतीले काम गरिरहेका बेला एक वर्षपछि सडक डिभिजनले योजना परिवर्तन ग¥यो । सडक डिभिजनले सडकलाई चार लेनमा विस्तार गर्ने निर्णय ग¥यो । त्यसपछि डिभिजनले गौरीपार्वतीलाई ४ लेनको बनाउने गरी सडकको आधाखण्डमामात्र काम गर्न भन्यो । जसअनुसार गौरीपार्वतीसँग बस टर्मिनलदेखि विशालचोकसम्म ४ लेन बनाउने गरी सम्झौता परिवर्तन गरियो । सुरुमा गरिएको सम्झौता लागतमै काम पुग्ने गरी गौरीपार्वतीलाई आधा सडकमा कामको जिम्मा दिइयो ।

बस टर्मिनलदेखि विशाल चोक खण्डको तस्विर

विशाल चोकदेखि आँपटारीसम्म विस्तार गर्ने कामका लागि सडक डिभिजनले नयाँ ठेकेदारलाई जिम्मा दिने निर्णय ग¥यो । जसअनुसार पशुपति निर्माण सेवासँग २०७७ असार २६ गते ०७८ फागुन २० मा काम सम्पन्न गर्ने गरी सम्झौता भयो । सम्झौताको म्याद सकिन अब १० दिन पनि छैन । सो सडकको काम हालसम्म करिब २५ प्रतिशत काम सकिएको सडक डिभिजनले जनाएको छ । पशुपति निर्माण सेवाले विशाल चोकदेखि आँपटारीसम्मको मात्र होइन बस टर्मिनलदेखि विशालचोक सम्मको एउटा छेउको लेन बनाउने जिम्मा पनि पाएको छ ।

बस टर्मिनलदेखि विशालचोकसम्म विस्तारको जिम्मा पाएको गौरीपार्वतीले ९५ प्रतिशतभन्दा बढी काम सकेको छ । बाँकी काम डिभाइडर राख्ने छ । डिभाइडर राख्न स्थानीयले विरोध गरिरहेकाले अब आफूहरुले सबै काम सम्पन्न गरेको बुझ्नुपर्ने गौरीपार्वती निर्माण सेवाले जनाएको छ । गौरीपार्वतीले आफ्नो काम सकाए पनि सडकको काम भने सकिएको छैन ।

बस टर्मिनलदेखि विशाल चोक खण्डको तस्विर

सडकको दुबै छेउमा थप एकएक लेन बन्न बाँकी नै छ । उक्त बाँकी रहेको लेन बनाउने जिम्मा भने पशुपति निर्माण सेवाको रहेको छ । यसरी एउटै सडकमा लेनपिच्छे फरकफरक निर्माण कम्पनीलाई जिम्मा दिँदा बाइपास सडक अहिले गन्जागोल भएको छ । ठाउँठाउँमा सडक भत्किएको छ भने केही ठाउँमा टालटुल गरेर भत्किएको सडकलाई नयाँ बनाउन खोजिएको छ । सडक झट्ट हेर्दा नयाँ जस्तो देखिँदैन । खानेपानी कार्यालयले पिच सम्पन्न भएको सडकमा गएर पुनः भत्काउने काम गरेकाले टालटुल गर्नु परेको निर्माण कम्पनीले जनाएको छ ।

पाँच वर्षसम्म पनि बनेने साँढे दुई किलोमिटर सडक :

सम्झौता परिवर्तनपछि बस टर्मिनलदेखि विशालचोक सम्मको सडक विस्तार गर्ने जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाले ५ वर्षसम्म पनि सडक विस्तार सम्पन्न गर्न सकेन । सडक डिभिजनले पनि पटकपटक म्यद थप गरिहयो । जम्मा साँढे दुई किलोमिटर सडक विस्तार ५ वर्षसम्म पनि नसकिँदा बाइपास सडकले त्यतिबेला सबैको ध्यान केन्द्रित गरेको थियो ।

सडक अलपत्र परेपछि सञ्चारमाध्यम र स्थानीयले पटकपटक आवाज उठाए । त्यसपछि गौरीपार्वती निर्माण सेवाले आफूले पनि अर्काे निर्माण कम्पनीलाई जिम्मा दिँदा काम समयमा सम्पन्न गर्न नसकेको बतायो । गौरी पार्वती निर्माण सेवाका प्रमुख रामकुमार थापाले आफूहरुले टेण्डर परेपछि स्थानीय निर्माण कम्पनी टार्गेट मिट कन्ट्रक्शनलाई पेटी सम्झौतामार्फत जिम्मा दिएको बताए । उक्त टार्गेट मिट कन्ट्रक्शनले समयमा काम सम्पन्न नगरिदिँदा आफ्नो कम्पनीको बदनाम हुनुका साथै आफूहरु घाटामा गएको उनको भनाइ छ ।

बस टर्मिनलदेखि विशाल चोक खण्डको तस्विर

सडक डिभिजनका इन्जिनियरले घुस खाएको भनाइ :

टार्गेट मिट कन्ट्रक्शनका प्रमुख शरद अधिकारीले आफूहरुले सडक डिभिजनका इन्जिनियरलाई घुस दिँदादिँदा घाटामा गएर काम समयमा सम्पन्न गर्न नसकेको र आफूले गौरीपार्वतीलाई नै जिम्मा दिएर काम छाडेको प्रतिक्रिया दिए । उनले यसअघि नारायणी अनलाइनले सडक निर्माणमा ढिलाइ हुनुको कारण माग गर्दा इन्जिनियरलाई घुस दिन नसकेर काम नगरेको प्रतिक्रिया दिएका थिए ।

टार्गेट मिट कन्ट्रक्शनले ८० प्रतिशत काम सम्पन्न गरेर छाडेपछि गौरी पार्वती निर्माण सेवाले नै उक्त सडकलाई पूर्णता दिइरहेको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सकिएको गौरी पार्वतीका प्रमुख थापाले बताए । ५ प्रतिशत काममा डिभाइडर, खानेपानी कार्यालय अगाडि पिच गर्न बाँकी रहेको बताउँदै उनले डिभाइडर राख्न स्थानीलयले विरोध गरेको र खानेपानी अगाडि विद्युतले पोल नसारिदिँदा काम गर्न नसकेको बताए ।

उनले आफूहरुको अवधि चैतसम्म रहेको बताउँदै अब बाँकी रहेको उक्त कामको जिम्मा पशुपति निर्माण सेवालाई दिएर आफूहरु सडकबाट बिदा हुने बताए ।

बस टर्मिनलदेखि विशाल चोक खण्डको तस्विर

‘हामीले अन्यत्र राम्रोसँग काम सम्पन्न गरेका छौं । भरतपुरको बाइपासको त्यो सानो सडकमा विविध कारणले फस्यौं । हामी घाटामा गयौं । तर हामीले लिएको जिम्मेवारी जसरी पनि पूरा गरेका छौं’ उनले भने ।

गौरी पार्वतीले जिम्मा पाएको लेन त बनायो तर पुशुपति निर्माण कम्पनीले जिम्मा पाएको लेन अझै बनाएको छैन । सडक खनेर यसै छाडिएको छ । जसले गर्दा सडक अझै पनि पूर्ण हुन सकेको छैन । सडकको बीचमा पिच भए पनि छेउछउमा विजोग देखिन्छ । ‘एकै पटक हामीलाई सबै लेनको जिम्मा दिइएको भए अहिलेसम्म सडक क्लियर हुन्थ्यो । तर बीचमा नयाँ कम्पनी छि¥यो’ थापाले भने ।

पशुपति निर्माण सेवाले अहिले विशाल चोकदेखि आँपटारी सम्मको सडकमा काम गरिरहेको छ । सुरुमा टर्मिनलदेखि विशालचोकसम्मको बाँकी लेन बनाउनु पर्नेमा निर्माण कम्पनीले त्यसो गरेको छैन ।

विशाल चोकदेखि आँपटारी खण्डको तस्विर

पशुपति निर्माण सेवाका प्रवन्ध निर्देशक शिव भट्टराईले आफूहरुले यो काम ६ महिनामै सक्ने लक्ष्य बनाएको भए पनि सडकमा विभिन्न निकायले अनावश्यक दुखः दिएका कारण समयमा काम सम्पन्न गर्न नसकेको बताए । स्थानीय तहले ग्राबिल नदिँदा, खानेपानीले समयमा पाइपको व्यवस्थापन नगर्दा, विद्युत प्राधिकरण भरतपुरले ठाउँठाउँमा समयमा पोल न सारिदिँदा र वन कार्यालयले रुख नकाटिदिँदा समयमा काम सम्पन्न हुन नसकेको उनको भनाइ छ । यी विभिन्न कारणले सडकमा अनावश्यक दुखः पाइरहेको बताउँदै उनले उक्त सडकमा आफूहरु घाटामा गइसकेको बताए ।

यसरी नै सबै निकायबाट असहयोग हुने हो भने आफूहरुले ठेक्का रद्द गरेर काम छाड्ने उनले बताएका छन् । ‘साइड क्लियर गरिदिनु पर्ने सरकारको जिम्मेवारी हो । हामीले साइड क्लियर गर्ने होइन । हाम्रो टण्डरमै त्यही छ’ उनले भने । यस्तै घर भत्काउने काम पनि अझै नभएको बताउँदै उनले घर भत्काउने जिम्मा आफूहरुको नरहेको बताए ।

सडक डिभिजनबाट आएन प्रष्ट जवाफ :

सडक डिभिजनका प्रमुख बाबुराम सापकोटाले आफू सडक डिभिजनमा नयाँ आएको बताउँदै पहिला उक्त सडकको सम्झौता गर्दा बिचार नपु¥याइएको स्वीकार गरे । उनले भने, ‘त्यहाँ निर्माण कम्पनीहरु यता र उता घुसेका छन् । कस्तो तालले ठेक्का निकालेका छन् । एकातिर गौरीपार्वती निर्माण सेवाको छ । फरि अर्काे पट्टी पशुपति निर्माण सेवाको छ । केके छ केके । पहिले नै गन्जागोल पारेर निकालेका रहेछन् । फेरि त्यसमा पनि अर्काे घुसेको रहेछ । अनेकअनेक छ ।’ सडकका बारेमा पूरानै इन्जिनियरसँग बुझन् उनले सुझाए ।

सडक डिभिजनका सूचना अधिकारी एवम् पशुपति निर्माण सेवाको काम हेर्दै आएका इन्जिनियर शिव खनालले टर्मिनलदेखि विशालचोकसम्म छेउछेउमा एकएक लेन बन्न बाँकी रहेको बताए । उक्त लेन पशुपति निर्माण सेवाले गर्नै बताए । उनले पशुपति निर्माण सेवालाई ६ महिना म्याद थप्ने तयारी भएको बताए ।

विशाल चोकदेखि आँपटारी खण्डको तस्विर

एउटै सडकमा दुई तीन वटा निर्माण कम्पनी ल्याउनु पर्ने अनि एक वर्षमै सडकको योजना परिवर्तन गर्नुपर्ने कारण माग गर्दा खनालले उक्त कुरा गोरीपार्वतीको काम हेर्दै आएका इन्जिनियर विजय दराईसँग बुझ्न सुझाए ।

गौरीपार्वतीको काम हेर्दै आएका सडक डिभिजनका इन्जिनियर विजय दराईले आफूले यो विषयमा केही प्रतिक्रिया नदिने बताए । उनले कार्यालयको सूचना अधिकारीसँगै सूचना माग्न आग्रह गर्दै सूचना अधिकारी हुँदाहुँदै आफूले कही नबोल्ने बताए ।

बाइपास सडकको योे अवस्था हेर्दा सडक विस्तारकोे काम सकिन अझै समय लाग्ने देखिन्छ । एकले अर्काेलाई आरोप लगाउँदै सम्बन्धित निकायहरु पानीको माथिको ओभानो बन्न खोजिरहेको देखिन्छ । तर उक्त सडक भएर हिँड्ने यात्रु, सवारी चालक र स्थानीलयले भने दैनिक सास्ती खेप्दै आएका छन् । सम्बन्धित निकायहरु सबैले एकले अर्काेलाई आरोप लगाइहेकाले बाइपास सडक कहिलेसम्म सम्पन्न हुन्छ भन्ने जवाफ कसैले पनि दिन सकेका छैनन् ।

यस अघि प्रकाशित बाइपाससँग सम्बन्धित समाचार :

कमिशनको खेलले भरतपुर बाइपास सडक अलपत्र : ठेकेदार भन्छन्, इन्जिनियरलाई घुस दिँदादिँदै काम गर्न सकिएन

भरतपुर बाइपास २ किमि सडक विस्तार : ५ वर्षमा पनि सकिएन काम, ठेकेदार कम्पनी सम्पर्कबिहिन

भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>