Breaking News

नेपालमा एक साताभर मौसम बदली र वर्षाको सम्भावना

Banner

काठमाडौं,माघ ७।

मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा बिहीबार दिनभर वर्षा र हिमपात भयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै आगामी साताभर मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ मा साताभर सामान्यदेखि पूर्ण बदली रहने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । प्रदेश १ को तराई क्षेत्रमा अगामी बुधबार र बिहीबार हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, मधेस प्रदेशमा शुक्रबारदेखि मंगलबारसम्म आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बाग्मती प्रदेशमा पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा तथा तराईका जिल्लामा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साताभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, पहाडी जिल्लाहरूमा साताभर आंशिकदेखि समान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, तराईका क्षेत्रमा हुस्सुर कुहिरोले साताभरि ढाक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले तराईको साताको सुरुवात र मध्यतिर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली भयो । पहाडी तथा तराई भू–भागका थोरै स्थानमा हल्का वर्षा भयो । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । हरेक प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । ‘देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।’

महाशाखाले बिहीबार २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ४ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>