Breaking News
म्याद गुज्रेका खाद्यपदार्थ बेच्दै चितवनका किराना व्यावसायी, प्रशासनको छैन अनुगमन

पुजा ढकाल
चितवन, पुस २३ –
सप्तगण्डकी चोकको एक पसलमा म्याद नाघेको खाद्य सामान पसलमा राखी बिक्री वितरण गर्दै आएको पाइएको छ ।
भरतपुर महानगरपालिका– १० सप्तगण्डकी चोकस्थित मार्फा किचन नजिकै रहेको किराना पसलले सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्दै म्याद नाघेको खाद्य सामाग्री बिक्री तथा वितरण गर्दै आएकोे पाइएको हो ।
विगत दुई वर्षदेखि महानगरपालिका भित्र रुचि किराना पसलका नामले सञ्चालित रहेको उक्त पसलले बिना लेबल ग्राहकलाई म्याद सकिएको सामान बिक्री तथा वितरण गर्दै आएको भेटिएको छ । तर उक्त किराना पसलले बोर्ड भनेको राखेको छैन । उक्त पसलले पोखरा फुड प्रालिद्वारा सन् २०२० मा नौ महिनाको लागि भनेर उत्पादन गरेकोे डाइजेस्टिब बिस्कुट २०२२ लाग्दा समेत बिक्री गर्दै आएको हो ।
त्यस्तै म स्वयम ग्राहक बनेर जनवरी ५ र ६ तारिकमा जाँदा उक्त पसलेले पहिलो दिन सँगसँगै दोस्रो दिन पनि सोही म्याद नाघेको डाइजेस्टिब बिस्कुट दिएकी थिइन् । दोस्रो दिन मैले तपाईंहरु किन यसरी म्याद नाघेको समान बेच्नुहुन्छ भनेर प्रश्न गर्दा उनले हामीले मिति हेरेको थिएनौ भन्दै प्रतिक्रिया दिइन् । उनले म्याद सकिएको सामान कम्पनीलाई फिर्ता लिन बोलाउँदा समेत नआएको पनि बताइन् ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय भरतपुरका प्रमुख तथा खाद्य अधिक्रत घननाथ अधिकारीले म्याद सकिएको सामान बिक्री तथा वितरण गर्नु कानुनी अपराध भएको बताए । त्यसैले यसरी सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्दै म्याद नाघेको खाद्य सामाग्री बिक्री तथा वितरण गरे कारवाही हुने उनको भनाइ छ । अधिकारीले भने, “सबै ठाउँमा हामी पुग्न असम्भव हुने भएकोले ग्रहाकले हामीलाई खबर गरे अनुगमन गर्न सहज हुने थियो ।”
उनले उक्त पसलमा गएर अनुगमन गर्ने र त्यसपछि कुन तरिकाले पसलेले सामान बेचेको छ बुझेर कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।


























