चितवन विशेष

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासङ्घ माग

Banner

चितवन,पुस २२ –

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजित विश्व हिन्दु महासङ्घ चितवनले आयोजना गरेको धर्म सभामा सहभागीहरुले नेपाललाई जबरतस्ती धर्म निरपेक्ष बनाइएको भन्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा विश्व हिन्दु महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले चितवनबाट धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताउनुभयो । “हरे राम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” अधिकारीले भन्नुभयो, “यो आन्दोलन चितवनबाट सुरु भएर मेचीमहाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दु राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानको लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विश्व हिन्दु महासङ्घमा विवाद नभएको भन्दै अधिकारीले केन्द्रीय समिति एउटै बनेको बताउनुभयो । विश्व हिन्दु महासङ्घको अन्तरराष्ट्रिय समितिमा विवाद देखिए पनि समाधानको बाटोमा अगाडि बढेको भन्दै उहाँले हिन्दुहरुलाई लडाउँदै फुटाउने खेल भएको बढाउनुभयो । “हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झण्डामा राष्ट्र मात्रै हुन्छ” अधिकारीले भन्नुभयो, “धर्म जोगाउन सन्देश दिँदै हिन्दु धर्म ल्याउने संकल्पका साथ अगाडि बढेको अवस्थामा हिन्दु राज्य फिर्ता ल्याउन सकिन्छ ।”

उक्त कार्यक्रममा विश्व हिन्दु महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । “दलहरुको स्वार्थको लागि हिन्दु राज्यबाट नेपाललाई हटाइयो” न्यौपानेले भन्नुभयो, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दु राज्य हुनुपर्नेमा न्यौपानेले जोड दिनुभयो ।

त्यस्तै, विश्व हिन्दु महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्यहरु मिलेर नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नुपर्ने बताउनुभयो । “अब निर्वाचन आउँदैछ, हामीले राजनीनिक दल नहेरौँ जसले हिन्दु धर्मको बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दु राज्य बनाउन पहल गरौँ” पौडेलले भन्नुभयो, “सबै ओमकार परिवारका सदस्यहरुको पहलमा नेपाललाई हिन्दु राज्य बनाउन सकिन्छ ।” हिन्दु संस्कारबाट रुढीवादी प्रथा हटाउँदै नैतिक पाठ सिकाउन सकिएको खण्डमा हिन्दु धर्मप्रति सबैको सम्मान र सद्भाव बढ्ने पौडेलले बताउनुभयो ।

धर्मसभाका क्रममा विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य टंकनाथ पौडेलले धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्नुपर्नेमा जोड दिनुभयो । हिन्दुहरुको आस्थाको केन्द्र देवघाटमा मांसमदिरा निषेध गरिएको उल्लेख गर्दै पौडेलले सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दु धर्मको गरिमा बढ्ने पौडेलले बताउनुभयो । मांसमदिरा सेवनका कारण समाजमा विकृति, विसङ्गती बढ्दै गएको भन्दै पौडेलले सात्विक भोजन गर्न सकेमा मान्छे निरोगी हुने समेत बताउनुभयो ।

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको भन्दै पौडेलले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । विश्व हिन्दु महासङ्घमा दुई वटा घटक भएकोमा चितवनबाट एकताको लागि पहल गरिएको भन्दै महासङ्घ एउटै बन्नुपर्नेमा पौडेलले जोड दिनुभयो । चितवनमा बुधबार भएको धर्म सभाको अध्यक्षता विश्व हिन्दु महासङ्घ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>