Breaking News
गाउँमा अझै एमाले बलियो छ,गठबन्धन तोड्ने कुरा छैनः देउवा

काठमाडौं,पुस १८-
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने बताएका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएका छन् ।
पछिल्लो पटक रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए । उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए । राष्ट्रियसभा निर्वाचनमात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।
उनले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिनँ, गाउँ गाउँमा एमाले बलियो छ, गठबन्धन छाड्ने कुरा छैन, भोलि वागमतीको सिट हाम्रो भागमा पर्यो भने विचार गरौंला भनेर पठाउनुभयो । एमाले तल्लो तहमा फुटेकै छैन भन्ने उहाँको कुरा थियो ।’
























