Breaking News
कांग्रेस चितवनको चुनावी सरगर्मी बढ्दै, सचिव पदमा झण्डै दर्जन आकांक्षी

चितवन, पुस १७-
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि नेपाली कांगेस चितवनको जिल्ला अधिवेशनको पनि चुनावी सरगर्मी बढ्दैछ ।
पटकपटक सर्दे आएको चितवन जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन अगाडि नै सम्पन्न गर्ने लक्ष्य थियो तर सजिलै नेतृत्व छान्न नसकिने अवस्था भएपछि निर्वाचन अधिकृतले राजीनामा दिए । केन्द्रले अधिवेशन केन्द्रको सकिएपछि पुस २७ गते गर्ने निर्णय ग¥यो । तर, केन्द्रमा भएको महाधिवेशनको प्रत्यक्ष असर चितवनको जिल्ला अधिवेशनमा पनि देखिने भएको छ ।
अझै पनि केन्द्रले निर्वाचन अधिकृत तोकेको छैन । निर्वाचन अधिकृत तोकिएपछि मात्र जिल्लाको निर्वाचन कार्यतालिका सार्वजनिक हुने कांग्रेस चितवनका सचिव उत्तम जोशीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘२६ गते मनोनयन दर्ता गरेर २७ गते निर्वाचन गर्ने वा २७ गते दर्ता गरेर २८ गते गर्ने भन्ने तय भएको छैन । निर्वाचन अधिकृत तोकिएपछि छलफल गरेर निर्वाचन तालिकाको निर्धारण गर्दछौं ।’ उनले अब भने अधिवेशन नसर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सकभर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्नको लागि एक पक्ष र बहुपक्षीय छलफलहरु चलिरहेको जानकारी दिए ।
जिल्ला नेतृत्व हत्याउन उम्मेदरवारका आकांक्षीहरुले घोषणापत्रसहित सामाजिक सञ्जालमा प्रचार प्रसारको काम तीव्र बनाएसँगै चुनावी सरगर्मी बढेको छ । तर, अझै पनि कांग्रेस चितवनमा अध्यक्ष र सचिवमा आकांक्षीहरुको संख्या धेरै भएकोले त्यति सहजरुपमा एकैपटकमा नेतृत्व छानिने सम्भावना निकै कम देखिन्छ । कांग्रेसको जिल्ला अधिवेशनलाई निकै नजिकबाट निहाल्दै आएका एक जना कांग्रेस निकट प्राध्यापकले केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि चितवन जिल्ला अधिवेशन पनि रोमाञ्चक मोडमा पुगेको नारायणी अनलाइनलाई बताए ।
अधिवेशनहरु भन्दा बढी उम्मेदरवारहरुको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ भने संस्थापन र संस्थापन इतरका प्यानलका अध्यक्ष तथा सचिवका आकांक्षी धेरै जना भएकोले एकै चरणमा नेतृत्व छानिने सम्भावना धेरै कम रहेको ती प्राध्यापकले बताए । उम्मेदवारी घोषणाको आधारमा हेर्दा कांग्रेस चितवनको सभापतिमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, मिलनबाबु श्रेष्ठ र विजय भुसालले उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसैगरी सचिवमा भरतप्रसाद दवाडी, सूर्य अर्याल, सूर्य ढकाल, नविन पौडेल, ध्रुव पोखरेल, आनन्द राउत, निर्मलराज पौडेल, शिव पौडेल, दिपक अधिकारीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको व्यक्तित्वलाई हेर्दा निकै अग्रज राजनीतिक व्यक्तित्वदेखि भर्खरका युवाहरु पनि आकांक्षी छन् । कांग्रेसका सचिवका आकांक्षीहरुलाई कुन सभापतिका उम्मेदवारले आफ्नो प्यानलमा राख्छन् भन्ने अझै स्पष्ट चित्र आइसकेको छैन ।
केन्द्रको महाधिवेशनमा जस्तै पहिलो चरणबाट सभापति छानिन नसकेपछि दोस्रो चरणमा सभापति चयन जान सक्ने धेरैको अनुमान छ । दोस्रो चरणमा हारेकाले जसलाई सहयोग गर्छन् त्यसले उसले नै सभापतिमा विजय हासिल गर्ने कांग्रेसका विश्लेषकहरुको दाबी छ ।
चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् । क्रियाशिल सदस्यता वितरणमा भने चितवनमा कुनै विवाद नरहेको कांग्रेस चितवनले जनाएको छ । पार्टीका विभिन्न पदमा धेरैले आकांक्षा राखे पनि उम्मेदवारी मनोनयन नभएसम्म अध्यक्ष र सचिवको उम्मेदवारको ग्यारेन्टी नहुने कांग्रेस चितवनका सचिव जोशीले बताए ।


























