Breaking News
चितवनमा यो वर्ष घरेलु हिंसा बढ्यो, पाँच महिनामा ९३ जना कुटिए

पुजा ढकाल –
चितवन, पुस १७
चितवनमा पछिल्लो समय घरेलु हिंसाका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पाँच महिनामा १९२ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७७/०७८ को एक वर्षमा कुल १५४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । चालु आवको पाँच महिनामै गत आवमाभन्दा धेरै घरेलु हिंसा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीका अनुसार चालु आवको पाँच महिनामा खान लाउन नदिएको ५४, कुटिपटको ९३ र गाली वेइज्जतिका ४५ वटा गरी १९२ घरेलु हिंसाका निवेदन दर्ता भएका हुन् ।
गत आव ०७७/७८ मा कुल खान लाउन नदिएको ७७, कुटपिटको ४४ र गाली वेइज्जतिका ३३ वटा गरी १५४ वटा निवेदन दर्ता भएका थिए ।
चालु आवको पाँच महिनामा दर्ता भएका १९२ निवेदन मध्ये मिलापत्रबाट १३८ र ५० वटा अदालतीय प्रक्रियाबाट मिलाइएको छ भने मंसिर महिनाको चारवटा निवेदमाथि छानविन भइरहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/२०७६ मा खान लाउन नदिएको ८९, कुटिपटको १३० र गाली वेइज्जतिका ११६ गरी ३३५, २०७६/२०७७ मा खान लाउन नदिएको ५५, कुटिपटको ३३ र गाली वेइज्जतिका २६ गरी ८४ र २०७७/२०७८ मा खान लाउन नदिएको ७७, कुटिपटको ४४ र गाली वेइज्जतिका ३३ गरी १५४ घरेलु हिंसाका घटना चितवनमा दर्ता भएका थिए । जसमध्ये प्रहरी कार्यालय र अदालती प्रक्रियाबाट सबै घरेलु हिंसाका घटना मिलापत्रमार्फत मिलाइएको छ ।
पछिल्लो समय जाडरक्सी, चुरोट, फेसबुक, इन्टरनेट जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले घरेलु हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्तै शिक्षित र पढेलेखेका व्यक्तिबाट पनि हाम्रो समाजमा घरेलु हिंसाको घटना हुने गरेको पाइन्छ ।



























