Breaking News
पुसमा परेको पानीले चितवनका किसानलाई राहत, गहुँ,तोरी तथा तरकारीको उत्पादन बढ्ने

चितवन, पुस १६-
खैरहनी नगरपालिका १२ कुमरोजका तेजप्रसाद बर्तौलाको बारीमा पुर्णरुपमा सिँचाइको सुविधा छैन । करिब तीन बिघा जमिनमा तोरी, गहुँ, आलु, राजमा लगायतका हिउँदे बाली लगाउनुभएका बर्तौला हिउँदमा पानी नपर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । तर, मंगलबार रातीदेखि बुधवारसम्म परेको पानीले उहाँलाई खुसी बनाएको छ ।
“१७ कठ्ठामा लगाएको तोरीमा कोशा लागेको छ । १२ कठ्ठामा लगाएको तोरीमा भर्खर फुल खेलेको छ । कोशा लागेको तोरीलाई त यो पानीले धेरै राम्रो ग¥यो । तोरीका गेडा पुष्टिन्छन्”, बर्तौलाले खुसि हुँदै भन्नुभयोे, “गहुँलाई त यो पानी अमृत बराबर भएको छ ।” फुल खेलिरहेको तोरीलाई पनि त्यति धेरै नोक्सान नगरेको बर्तौलाको भनाई छ । घोलमा लगाएको राजमा र आलुमा भने केही क्षति भएको उहाँले बताउनुभयो ।
पश्चिम चितवन पार्वतिपुरका चिरञ्जीवि पोख्रेल गहुँको बीउँ उत्पादन गर्दै आउनुभएको छ । करिव २८ बिघा जमिनामा गहुँ लगाउनु भएका पोख्रेल हिउँदे बर्षाले बाली सप्रने भन्दै खुशी हुुनुहुन्छ । “२० बर्षदेखि गहुँको बीउँ उत्पादन गर्दै आएको छु । अहिले पनि २८ विघा जमिनमा गहुँ छ । त्यसका साथै जौ घाँस, तोरी पनि छ”, उहाँले भन्नुभयो, “दुई दिनसम्म आएको पानीले सबै बालीलाई राम्रो गरेको मेरो अनुभव छ ।” उहाँले बाली संगै वातावरणलाई पनि राम्रो भएको बताउनुभयो ।
यसरी हिउँदमा परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनालीमा पानीको आवश्यक भएको समयमा पानी पर्दा किसान खुसी भएका हुन् । सिँचाइको सुविधा नभएका टाँडी जग्गामा भएका सबै अन्नबालीलाई हिँउँदे पानी उपयुक्त नै भएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिनबहादुर पुन । “जिल्लामा दुई दिनसम्म शान्त रुपमा पानी प¥यो । यसले सिँचाई भएका वा नभएका क्षेत्रका अन्नबालीलाई राम्रो काम ग¥यो”– उहाँले भन्नुभयो, “यो पानीले नकरात्मक भन्दा सकारात्मक भूमिका खेलेको छ ।”
यतिखेर किसानका बारीमा गहुँ, तोरी, मुसुरो, लगायतका हिउँदे बाली सहित तरकारी र जौ घास पनि रहेको छ । विशेष गरि सिँचाई नभएका ठाउँको गहुँबालीलाई आकाशे पानी लाभदायक नै भएको उहाँको भनाई छ । “यतिखेर गहुँलाई पानी आवश्यक थियो । यतिखेर गहुँले जरा हाल्ने समय हो । त्यसलाई बढी फाईदा पुगेको छ”,–उहाँले भन्नुभयो ।
गहुँबालीका लागि मात्रै नभएर कोषा लागेको तोरीका लागि पनि यो पानीले राम्रै गरेको छ । तर, पानीको मात्र बढ्यो भने फुल खेलिरहेको तोरीको परागसेचनमा असर पुग्न सक्ने उहाँले बताउनुभयो । चितवनमा अहिले ५ हजार २ सय ५० हेक्टरमा गहुँ र १३ हजार २ सय ७० हेक्टरमा तोरी लगाईएको छ । यस पानीले गहुँ, तोरी तथा तरकारीको समेत उत्पादन समेत बढ्ने अनुमान गरिएको पुनले बताउनुभयो ।
यस पानीले चितवनको केरालाई समेत राम्रो गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितनवका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो । “यतिखेर किसानले केरामा पानी लगाउने समय हो । ठिक समयमा आकाशबाट पानी पर्दा किसानलाई लाभ भएको छ”, उहाँले भन्नुभयो । पाईपबाट पानी लगाउन भन्दा आकाशबाट आएको पानीले बालीलाई धेरै राम्रो गर्ने उहाँले बताउनुभयो । चितवनमा करिव २ हजार हेक्टर क्षेत्रफलमा केरा खेति हुँदै आएको छ ।


























