Breaking News

चितवनमा तोरीको फूलमा विषादी छर्दा बारीमै मर्न थाले मौरी, पीडामा मौरीपालक किसान

  • Logo
    app haru
  • १४ पुस २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन मह उत्पादन हुने जिल्लामा चितवन अग्र स्थानमा पर्दछ । यसको प्रमुख कारण हो चितवन तोरी खेतीका लागि प्रख्यात जिल्ला हो ।

यहाँ सिजनका बेला अधिकांश किसानले तोरी छर्ने गर्छन् । त्यही तोरीमा मौरी चर्ने हुँदा चितवनमा किसानहरु मौरीपालनतर्फ पनि आकर्षित छन् । तर पछिल्लो समय तोरीको फूलमै विषादी छर्ने प्रवृत्तिले चितवनमा वर्षेनी मह उत्पादन घट्दै गएको किसानहरुले गुनासो गरेका छन् ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका २६ का किसान भुवनबहादुर कुँवरले तोरी बारीमा पुगेका मौरी घारसम्म नफर्किेने गरेको दुखेसो पोखे । उनले भने, ‘मौरीपालक किसान र तोरीका किसानबीच नङ र मासुको जस्तै सम्बन्ध छ । तर तोरी छर्ने किसानले बुझ्दैनन् । जहिले मन लाग्यो त्यहिले विषादी छरिदिन्छन् । जुनपायो त्यही विषादी छर्छन् । जसले गर्दा मौरीहरु तोरी बारीमै मर्ने गरेका छन् ।’ यस्तै कारणले वर्षेनी मह उत्पादन घटिरहेको कुँवरको भनाइ छ ।

आफूले पनि बारीमा तोरी छरेको बताउँदै कुँवरले आफूले फूल फुल्नुअघि सरकारले सिफारिस गरेको विषादीमात्र हालेको बताए । त्यसो गर्दा पनि यदि तोरीमा किरा लागेमा साँझपखमात्र विषादी छर्नुपर्ने भए पनि यहाँका किसानले त्यसो नगर्ने गरेको उनको भनाइ छ ।

‘तोरीको परागसेचनमा मौरीले धेरै लाभ दिने भए पनि यहाँका किसानले अझै बुझ्न सकेका छैनन् । सरकारले बुझाउन पहल पनि गरेको छैन’ उनले भने, ‘सरकारले सूचना जारी गरेर तोरी किसानहरुलाई सचेत गराउनुपर्ने उनको माग छ ।

मौरीपालक संघ चितवनका अध्यक्ष एवम् पूर्वि चितवनको रत्ननगर १५ का किसान रोशन पण्डितले तोरी छर्ने किसानहरुले अझै कुरा बुझ्न नसकेको बताए । उनले भने, ‘चितवनमा तोरीका कारण मह उत्पादन राम्रो छ । तर तोरीको फूलमा विषादी छरिदिँदा पूर्विचितवनका मौरीपालक किसानले तोरीबाट मौरी हटाइरहेका छन् । अन्य स्थानमा पनि यही हालत हुने देखिएको छ ।’

तोरीको किसानहरुलाई सचेत गराउन महासंघले कृषि ज्ञान केन्द्रलाई आग्रह गरेको उनले बताए । उनले भने ‘जति बेला आफूलाई मन लाग्यो, फुर्सद भयो उतिबेला विषादी छरिदिन्छन् । तोरी किसानले टेर्देनन् । एउटाले हालेको देखेपछि । अरुले पनि हाल्न थाल्छन् ।’

विषादीका कारण फिल्डमा गएका अधिकांश मौरी मर्ने, मौरी रिसा हुने, टोका हुने, काम गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । जसले गर्दा मह उत्पादन घट्न थालेको छ । विषादीमा परेको मौरी बोटमै मर्ने भएकाले महसम्म विषादी नआउने बताउँदै उनले महमा विषादी परेको हुन्छ भन्ने कुनै भ्रममा नपर्न आग्रह गरे ।

भरतपुर महानगरपालिका ७ कृष्णपुरका मौरीपालक किसान एवम् कृषिमन्त्रालय मातहतका सरकारी कार्यालयमा ३१ वर्ष काम गरेका कृषि विज्ञ तथा पूर्वसहसचिव दुर्गा दवाडीले नबुझेका किसानले तोरीमा विषादी छरिरहेको बताए ।

‘फूलमा विषादी छर्दा तोरीको पोलन (पराग) मर्ने गर्दछ । जसले गर्दा दाना लाग्दैन । तोरीमात्र होइन फूल फुलेका बेला कुनै पनि बालीमा विषादी छर्न हुँदैन । विषादी छर्दा उत्पादन घट्ने गर्दछ’ उनले भने ।

नेपाल मौरीपालक संघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले चितवन र नवलपुरको तोरीमा फूलफुलेपछि अत्याधिक विषादी छरेको पाइएको बताए ।

उनले भने ‘एग्रोभेटहरुले जुन पायो त्यही औषधी ल्याएर बेचे । नेपालमा अवैध मानिएका औषधी पनि भारतबाट लुकाएर ल्याएर बेचेको पाइयो । सरकारले सिफारिस गरेका औषधीमात्र हाल्न एग्रोभेटले प्रोत्साहन गरेनन् । जुनपायो त्यही औषधी हाल्दा झन् समस्या भएको छ ।’

सिफारिबाहेकका अरु औषधी नहाल्नका लागि सचेतना गराउन, एग्रोभेटहरुमा अनुगमन गर्न सरकारले नसक्दा मौरीपालक किसानमात्र होइन तोरी पनि विषाक्त भइरहेको उनले बताए ।

‘जाडो बढन् लाग्दा अहिले तोरीमा लायी देखिन थालेको छ । फूल फुल्नुअघि घाम भयो भनेर विषादी हालेनन्, उनले भने, ‘अहिले हाल्नै परे पनि ३÷४ बजेपछि हाल्न पर्ने सम्झाउन सकिएन ।’
कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले किसानहरुमा अझै पनि जनचेतना दिनुपर्ने ठानेर एफएमबाट सूचना बजाउन थालिएको बताए ।

उनले भने, ‘हिजो हामी अनुगमनमा पनि गयौं । केही ठाउँमा किसानले विषादी छरेको पनि देख्यौं । किन छरेको भन्यौं । लायी लागेर भने । अलिअलि लायी लाग्दा पनि छरेका रहेछन् । हामीले सम्झाएर आयौं ।’
उनले फूलमा लायी लागि हालेमा तत्कालै विषादी छर्न आवश्यक नरहेको बताए । उनले छर्नै परे हरियो ट्याग भएका विषादी मात्र छर्न आग्रह गरे ।

एग्रोभेट सञ्चालन गर्नेहरुलाई सबै तालिम दिएर अनुमति दिने गरिएको भए पनि उनीहरुले बदमासी गरेर कडा विषादी बेचेको हुन सक्ने उनले बताए । एग्रोभेटको अनुगमन गर्ने जिम्मा स्थानीय तहमा गएको बताउँदै उनले स्थानीय तहसँग समन्वयन गरी अनुगमन गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>