Breaking News

धार्मिक तथा पर्यटकीय स्थल देवघाटमा माघे संक्रान्ति मेलाको तयारी, स्नानका लागि यातायात बन्द गरिने

Banner

नवलपुर, पुस ९-

नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे संक्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ। मेलालाई व्यवस्थित बनाउन तीनवटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे संक्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे संक्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्द छन्। स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ। देवघाटको झोलुङ्‍गे पुल जीर्ण भइसकेकाले सो पुलमा पुस ३० गतेदेखि नै सवारीसाधनलाई निषेध गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए।

देवघाटको बेणी संगममा स्नान गर्न चितवन, तनहुँ र नवलपुरबाट जान मिल्ने भए पनि चितवनबाट बाटो सहज हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गरिने घिमिरेको भनाइ छ। त्रिशूली तथा कालिगण्डकी नदी तरेर संगमस्थल पुग्नका लागि प्रतिव्यक्ति ३० रुपैयाँभन्दा बढी पैसा लिन नपाउने गरी क्षेत्र विकास समितिले शुल्क तोकेको घिमिरेले जानकारी दिए। देवघाटमा माघे संक्रान्ति स्नानका लागि पुस मसान्तदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका छन्।

गत वर्ष कोरोना कहरका कारण देवघाटमा स्नान गर्न प्रतिबन्ध गरिएकामा यस वर्ष भने देवघाट स्नानलाई व्यवस्थित पारिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार देवघाट स्नानका लागि बेणी संगम तथा चितवन र नवलपुरको किनारमा क्षेत्र निर्धारण गरिएको छ। स्नानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिने भन्दै अन्य सुरक्षाका लागि तीनवटै जिल्लामा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचान हुने अधिकारीले बताए।

मेलालाई व्यवस्थित गर्न २० वटा उपसमिति गठन गरिएको छ। स्वयंसेवक सेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन तथा सरसफाइ, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार, बिजुली बत्ती, डुंगा व्यवस्थापनलगायत उपसमिति गठन गरिएका छन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>