Breaking News
भरतपुर–पोखरा–लुम्बिनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम : ४ दिने भ्रमण भरतपुरबाट सुरु

चितवन, पुष ४ –
भरतपुर–पोखरा–लुम्बिनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम भरतपुरबाट सुरु गरिएको छ । भरतपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा हिजो शुक्रबारदेखि कार्यक्रम सुरु गरिएको हो ।
प्रवद्र्धनस्वरुप पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित हिजो शुक्रबारदेखि चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमको समेत आयोजना गरिएको छ ।
जसअनुसार हिजो भरतपुर महानगरपालिका भित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यहरुको भ्रमण गरिएको छ ।
भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु नारायणी किनार, ज्ञानेश्वर सामुदायिक वन, मदन भण्डारी स्मृति पार्क गाजीपुर, रानीपोखरी, बाटुली पोखरी, छितामाई छत्रीपुल, पटिहानी र मेघौलीको भ्रमण गरिएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले यी तीनवटै स्थललाई जोडेर स्वर्ण त्रिकोणको अवधारणाका साथ प्रवद्र्धन गर्न लागिएको बताए ।
लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाई लम्ब्याउन त्रिकोणात्मक सम्बन्ध प्रभावकारी हुने उनको भनाइ छ ।

पोखरा, भरतपुर र लुम्बिनी प्राकृतिक, धार्मिक एवं सांस्कृतिक सबै दृष्टिबाट एकआपसमा अन्तरसम्बन्धित रहेको उनले बताए । प्रवद्र्धन भ्रमणका क्रममा यी तीन वटै स्थानका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै यहाँका सम्भावना र चुनौती लगायतका विषयमा सरोकारवालासँग छलफल एवम् अन्तक्र्रिया गरिने भण्डारीले बताए । उनले भरतपुरबाट शुक्रबारदेखि सुरु भएको प्रवद्र्धन भ्रमण कार्यक्रम शनिबार लम्बिनी, आइतबार पाल्पा र सोमबार पोखरामा भ्रमण गरी प्रवद्र्धन भ्रमणको समापन गरिने बताए ।
प्रवद्र्धन भ्रमण कार्यक्रमको सुरु गर्दे भरतपुर महानगरपालिकाले महानगरको टुर प्याकेजको समेत घोषणा गरेको छ । ६ रात ७ दिनसम्म घुम्न मिल्ने गरी महानगरले टुर प्याकेज घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) रेणु दाहालले भरतपुर प्रकृति र संस्कृति दुवै दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएकोे बताइन् । पर्यटकीय पूर्वाधार विकासका लागि महानगरपालिकाले चासो दिएको बताउँदै उनले स्थानीय जागरुकताले आफूहरूलाई अझै उत्साहित बनाएको बताइन् ।
त्रिकोणत्मक पर्यटकीय साझेदारीले यी तीनै स्थलको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
महानगरको आफ्नोसँगै बागमती प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनमा काम गरिरहेको उनले बताइन् । महानगरभित्र महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको भन्दै उनले यहाँ आउने पर्यटकले छ रात सात दिनसम्म बसेर घुम्न मिल्ने गरी प्याकेज तयार गरिएको जानकारी दिइन् । प्याकेजमा जङ्गल सफारीदेखि नारायणी नदी सीबीच मोडल हुँदै धार्मिक क्षेत्र र पहाडी डाँडामा पदमार्गसमेत रहेका छन् ।

मेयर दाहालले नेपालकै पर्यटकीय दृष्टिले विविधता भरतपुर महानगरमा रहेको भन्दै सूर्याेदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर पर्यटक रमाउन सक्ने ठाउँहरु रहेको बताइन् । भरतपुरको कविलासस्थित चौकीडाँडाबाट सूर्याेदय अवलोकन गर्न सकिन्छ भने गोलाघाटबाट सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।
भरतपुरमा भएको प्रवद्र्धन भ्रमण कार्यक्रममा महानगरकी उपप्रमुख पार्वती शाह ठकुरी, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, महानगरपालिकाका प्रशासकीय अधिकृत रामबन्दु सुवेदी, महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा विश्वराज सुवेदी, होटल व्यावसायिक संघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके, भरतपुर–लुम्बिनी–पोखराका पर्यटन तथा होटल व्यावसायी, उद्योग संघका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।



























