Breaking News
पर्यटन प्रर्बद्धनमा चितवनले नचिनेको ठोरी नाका

सुदीप थापा,
चितवन,पुस ४-
भरतपुर महानगरसहित विभिन्न संघ संस्थाको आयोजनामा शनिवार मात्रै भरतपुर–पोखरा–लुम्बिनी त्रिकोणात्मक पर्यटन प्रवद्र्धनको बृहत कार्यक्रम भयो । कार्यक्रमको मुख्य उदेश्य भनेकै भरतपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या कसरी बढाउन सकिन्छ भन्ने थियो । हुनपनि देशकै तेस्रो पर्यटकीय गन्तब्यको रुपमा रहेको सौराहादेखि पटिहानी, माडी,मेघौली, नारायणी किनार मात्र नभएर चितवनका पहाडी भुभाग लगायतका क्षेत्रहरु भरपुर पर्यटकीय स्थानहरुले सजिएका छन । अधिकाशं क्षेत्रमा सरकार र नीजि क्षेत्रबाट अर्बौको लगानी भएको छ । करोडौं लगानीमा साना ठूला होटल रेष्टुराहरु संचालनमा छन् ।
समग्र चितवनमा पर्यटकको संख्या बढाउन सबै क्षेत्र एकजुट भइरहेको यो आवस्थामा पर्यटक भित्रने एउटा प्रमुख द्वारको बारेमा खासै चासो राखेको पाइदैन् । न त छलफल र बहस नै भएका छन् । लाखौ पर्यटक भित्राउन सकिने भारतीय सिमानामा रहेको ठोरी नाका ओझेलमा परिरहेको छ । भरतपुरमा पर्यटक भित्रने मुख्य गन्तव्यनै ठोरी नाका बन्न सक्छ ।

भरतपुरबाट करिब ६५ किलोमिटरको दुरीमा रहेको चितवन र पर्साको सिमाना पर्ने पर्साको ठोरी जुन भारतीय बजारसंग जोडिएको छ । ठोरीबाट माडी, कसरा, पटिहानी भरतपुरको हुलाकी सडकले जोडेको छ । ठोरीमा आजको दिनमा पनि पश्चिम बिहारका सयौं भारतीय पर्यटक नेपाल घुम्नका लागी भन्दै आईरहेका हुन्छन् । सामूहिक रुपमा आउने उनिहरु ठोरीबाटै फर्कन बाध्य छन् । ठोरीमा रहेको छोटी भन्सार संचालनमा नआउनु र संचालनमा आएपनी कुनैपनी भारतीयले आफ्नो गाडीको नेपाल तर्फ राजश्व तिरेर प्रबेश गर्न नपाउनुनै ठोरी बाट भारतीय पर्यटक भित्रन नसक्नुको प्रमुख कारण हो । उनीहरु ठोरी हुँदै नेपाल आउन चाहेपनि बाध्यताले ७० किमी बिरगंज अथवा नवसपरासीको महेशपुर ,सुनौली पुग्नुपर्ने बाध्यता छ । भारतका पटना,बेतीया ,नरकटियागंज देखी आएका संयौं पर्यटक ठोरीको नाका बाट प्रबेश गर्न चाहाँदा पनि नेपाल तर्फकै समस्याले उनिहरु प्रवेश गर्न सक्दैनन् ।
बिशेषत यो मार्ग छोटो भएका कारण भारतीयहरुको आकर्षण छ । ठोरीसम्म भारतको कुनैपनी स्थानबाट सडक संजाल सजिलै जोडिएको छ भने ५० औं बर्ष देखी संचालन भइराखेको रेल सेवा पुन विस्तार हुदै संचालनको क्रममा छ । ठोरी सिमाबाट भारतीय भूमी तर्फ रहेको बाल्मिकी बाघ संरक्षण क्षेत्रमा घुम्न आएका भारतीय पर्यटक ठोरी प्रवेश गरेर चितवन राष्ट्रिय निकुन्ज हुदै भरतपुर आइपुग्दा पर्यटनमा ठूलो टेवा पुग्ने देखिन्छ । भरतपुरको आर्थिक विकासका लागि पनि भारतीय पर्यटकहरुलाई चितवनमा ल्याउने सहज वातावरण बनाउनुपर्छ ।
पटक–पटक ठोरीबाट भारतीय गाडीको भन्सार तिर्न मिल्ने पहल गरिरहँदा पनि नेतृत्वमा रहेकाहरुले आस्वासन मात्र दिने गरेका छन् । विरगन्ज भन्सार कार्यालय र सिमित ब्यापारीको कुरा सुनेर ठोरी छोटी भन्सारलाई सो सुबिधा नदिएको प्रष्ट बुझ्न सकिन्छ । त्यसैले चितवनको भुगोलसंग कहिकतै भारतीय सिमाकाद्वार नभएको अवस्थामा ठोरीलाई समयमानै चितवनको पहलमा सवारी राजश्व तिर्न मिल्ने गरी संचालनमा ल्याउनु पर्छ । ठोरीसम्म आएर चितवन आउन खोज्ने हजारौं पर्यटकलाई चितवनले समयमा चिन्न सके मात्र महानगर र समग्र चितवनको पर्यटनले फड्को मार्ने देखिनछ ।



























