Breaking News

पार्टीले मलाई न्याय गर्नेछ भन्नेमा विश्वस्त छुः सांसद कृष्णभक्त पोखरेल

Banner

चितवन,मंसिर २७-

नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले पार्टीले आफूलाई न्याय गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । एमालेको दशौं महाधिवेशनपछि केन्द्रीय सदस्यमा छुटेका पोखरेलले केही समय प्रतीक्षा गर्ने बताउनुभयो ।

एमाले महाधिवेशनको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पोखरेलले केन्द्रीय कमिटीमा पर्नेमा विश्वस्त हुनुहुन्थयो । तर, पर्नुभएन । उहाँले केन्द्रीय कमिटीमा राख्न नेतृत्वलाई दबाब पनि दिनुभएन । तर, पछिल्लोपटक मनोनितमा समेत नपरेपछि पोखरेल असन्तुष्ट बन्नुभएको छ ।

‘यसअघि मैले पार्टीको चितवन जिल्लाको अध्यक्षका रुपमा दुई कार्यकाल चलाएँ । एमाले–माओवादी एकता भएपछि माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष बनाएर मलाई घटुवा गरेर सचिव बनाइयो । मैले अपमानित भएपनि सचिव पदमा बसेर काम गरेँ । दुई पटक सांसदमा निर्वाचित भएँ’, संचारकर्मीसंग कुरा गर्दै पोखरेलले भन्नुभयो, ‘त्यसो हुँदा मलाई केन्द्रीय कमिटीमा राखिन्छ भन्नेमा पूर्ण विश्वासमा थिएँ । पार्टीलाई के कस्तो अवस्था बन्यो र मलाई केन्द्रीय सदस्यमा समेटिएन थाहा छैन । तर, पार्टीले न्याय गर्नेमा विश्वस्त छु ।’

आफूले संसद् र कानुन निर्माणको प्रक्रियामा भूमिका निर्वाह गरेकाले केन्द्रीय कमिटीमा ल्याउन सक्ने सम्भावना अझै रहेको पोखरेलले बताउनुभयो । ‘मलाई कहीँ न कहीँ न्याय होला भन्ने लागेको छ । मलाई न्याय हुनेमा विश्वस्तै छु’ पोखरेलले भन्नुभयो, ‘प्रतीक्षा गर्दापनि न्याय भएन भने त्यसपछि के गर्ने त्यतिबेला थाहा हुन्छ ।’ दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभामा उहाँ निर्वाचित हुनुभएको थियो । दुर्गा प्रसाईं केन्द्रीय कमिटीमा अटाउँदा आफू नपरेपछि पोखरेल असन्तुष्ट बन्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>