Breaking News
एमसीसीको विरोधमा भोलि चितवन बन्दको आब्हान, कारवाही गर्ने प्रशासनको चेतावनी

चितवन,मंसिर २७-
एमसीसीको विरोधमा भोलि चितवन वन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन वन्दको आब्हान गरेको हो ।
१३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ । संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए । बन्दका दिन शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए । एमसीसी राष्ट्रको हितमा नरहेको र देशलाई अमेरिकाको जिम्मा लगाउने योजनाका साथ नेताहरु प्रयोग भइरहेको पौडेलले बताए ।
चितवन प्रशासनले भने भोलि जिल्लामा सबै क्षेत्र निर्वाद रुपमा संचालन हुने भन्दै वन्द गराउँदै हिडे गिरफ्तार गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नारायणी अनलाइनसंग कुरा गर्दै चितवन प्रशासन कडाइका साथ प्रस्तुत हुने बताए ।
वन्द आब्हान कर्तालाई प्रशासनले आज साँझ नारायणगढमा मसाल जुलुस निकाल्न दिएन । सो क्रममा उनिहरुले केहीबेर एमसीसीको विरोधमा चर्को नारावाजी गरेका थिए ।
यही २८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गरेको छ ।

























