Breaking News

वीरेन्द्र क्याम्पसका स्थायी प्राध्यापकहरु अन्य कलेजमा व्यस्त : कारबाही गर्ने सिडियोकोे चेतावनी

  • Logo
    app haru
  • २७ मंसिर २०७८, सोमबार
Banner

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर २७ –
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित वीरेन्द्र बुहुमुखी क्याम्पस चितवनको एकमात्र सरकारी स्वामीत्व रहेको क्याम्पस हो ।

यस क्याम्पसमा स्थायी १०४ जना, त्रिवी करार १५, आन्तरिक करार १८ र आंशिक ९० गरी २२७ जना प्राध्यापक रहेका छन् । स्थायीको दरबन्दीले नपुगेर र नयाँ विषयका लागि आंशिक र करारमा प्राध्यापक नियुक्त गरिन्छ ।

तर वीरेन्द्रमा दरबन्दीले नपुगेरै आंशिक र करारमा प्राध्यापक नियुक्त गरिएको छ । स्थायीले मात्र सबैलाई पढाउन नभ्याएको खण्डमा मात्र आंशिक र करारले पढाउनुपर्छ । तर वीरेन्द्रमा स्थायी शिक्षकलाई फुर्सदिलो बनाउन आंशिक र करारमा प्राध्यापकहरु थप्ने गरेको पाइएको छ । स्थायी प्राध्यापकलाई फुर्सदिलो बनाएर क्याम्पसले अन्य कलेजहरुमा पढाउनका लागि सिफारिस गर्ने गरेको छ । स्थायी प्राध्यापकहरु अरु कलेजमा व्यस्त देखिने गरेका छन् ।

करार र आंशिक प्राध्यापकलाई पढाउन लगाउने र स्थायी प्राध्यपकहरु फुर्सदिलो भएर बस्ने गरेको करारमा पढाउँदै आएका शिक्षकहरुकै गुनासो समयसमयमा सुनिने गर्दछ ।

जिल्ला प्रशासन कार्यालय मुकदर्शक :

वीरेन्द्रका प्राध्यापकहरु अन्य कलेजमा व्यस्त भएको भनी २०७७ मंसिर २३ मा एउटा निवेदन प¥यो । निवेदनमा भनिएको थियो, ‘वीरेन्द्र क्याम्पसमा स्थायी नियुक्ति पाएका पदाधिकारी एवम् प्राध्यापकहरुले नेपाल सरकारकै सिटीभिटी अन्तर्गतका आंगिक क्याम्पसमा पनि अध्यापन गराइरहेका छन् । कुनै एक सरकारी क्याम्पसमा अध्यापन गराइरहेका प्राध्यापकहरुले नेपाल सरकारकै अर्काे शैक्षिक संस्थामा पनि अध्यापन गराउने कुरा वर्तमान कानुनी व्यवस्था विपरित रहेकाले तत्काल त्यस उपर छानबिन गरी कुनै एक व्यक्ति एउटा मात्रै सरकारी आंगिक शैक्षिक संस्थामा अध्यापन गराउन पाउने गरी व्यवस्था मिलाई अन्य बेरोजगार जनशक्तिलाई पनि सेवा गर्ने अवसर प्रदान गर्न गराउन अनुरोध गर्दछु ।’

उक्त निवदेन उपर सुनुवाइ गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रमेलाल लामिछानेले वीरेन्द्र क्याम्पससँग दुवैतर्फ काम गर्ने शिक्षक प्राध्यापकहरुको विवरण माग गरेका थिए ।

तर त्यसपछि उक्त निवेदन उपर कुनै कारबाही भएको छैन । कलेजले दुवैतर्फ काम गर्ने शिक्षकहरु नामावली प्रशासनमा पठाएको छैन । प्रशासन पनि त्यत्तिकै मुकदर्शक बनेर बसिरह्यो ।

उक्त निवेदनका बारेमा बुझ्न नारायणी अनलाइन टिम जिल्ला प्रशासन कार्यालय पुगेको थियो । तर जिल्ला प्रशासनमा उक्त निवेदनै फेला परेन । निवेदनका बारेमा अहिलेका जिल्ला अधिकारी आस्मान तामाङ्गलाई जानकारी समेत गराइएको छैन ।

नारायणी अनलाइनसँग प्रतिक्रिया दिँदै प्रजिअ तामाङ्गले सरकारी प्राध्यापकहरु वीरेन्द्रमा काम गर्ने समयावधीमा अन्त जानै न पाउने बताए । उनले समयावधीपछि अरु कलेजमा जानु परे पनि विभागको अनुमति लिएर केही समयका लागिमात्र जान पाइने व्यवस्था रहेको बताए । उनले अन्य कलेजमा काम गर्ने प्राध्यापकहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

हिले पनि वीरेन्द्रका प्राध्यापकहरु वीरेन्द्रमा काम गर्ने समयमा अर्काे कलेज गएर पढाइरहेको तथ्य नारायणी अनलाइनले फेला पारेको छ ।

सोही कारण वीरेन्द्र क्याम्पसमा दिनहुँ जसो एक वा दुई विषयको पढाइ नै हुन सकेको छैन । हरेक दिन कुनै न कुनै विषयगत कक्षा खाली हुने गरेको विद्यार्थीहरुको गुनासो छ । यही विषयलाई लिएर विद्यालयमा पटकपटक तालाबन्दी र आन्दोलन हुने गरेको भए पनि समस्या समाधान हुन सकेको छैन ।

स्कुल अफ हेल्थ साइन्समा वीरेन्द्रका उप-प्राध्यापकको दादागिरी :

वीरेन्द्रका प्राध्यापकहरु स्कुल अफ हेल्थ साइन्समा अध्यापन गराइरहेका छन् । स्कुल अफ हेल्थ साइन्सकी प्रमुख रजनी मल्लकी श्रीमान् हुन् वीरेन्द्रका उप–प्राध्यापक दिनेश कुमार मल्ल । उनी वीरेन्द्रमा दुई/तीन घण्टा आएर बाँकी समय स्कुल अफ हेल्थ साइन्समै बिताउने गर्छन् । उनले स्कुल अफ हेल्थ साइन्समा दादागिरी देखाउने गरेको नारायणी अनलाइनलाई गुनासो प्राप्त भएको छ । हेल्थ साइन्समा अरुलाई अवसर नदिइ वीरेन्द्रकै स्थायी प्राध्यापक ल्याउन मल्लले ठूलो भूमिका खेलिरहेको आरोप लागेको छ । हेल्थ साइन्समा वीरेन्द्रका ६ जना उप–प्राध्यपकहरु र एक जना सह–प्राध्यापकले अध्यापन गराउने गरेका छन् ।

हालसम्म पत्ता लागेअनुसार स्कुल अफ हेल्थ साइन्समा जाने वीरेन्द्रका प्राध्यापकहरुमा प्राध्यापकहरु हरिदेवी शर्मा, कुलदेव यादव, वेदनिधी अर्याल, बद्रीप्रसाद राउत र किशोर चन्द्र घिमिरे रहेका छन् ।

प्राध्यापकहरुले वीरेन्द्रमा विद्यार्थीहरुलाई बुझ्ने गरी नपढाइकन छिटो कोर्स सकाउने गरी दौडाउने गरेको वीरेन्द्रका एक विद्यार्थीले गुनासो गरे । जसले गर्दा वीरेन्द्र क्याम्पसको नतिजा वर्षेनी खस्किदो क्रममा रहेको छ ।

वीरेन्द्रका प्राध्यापकहरु नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा पनि अध्यापन गराइरहेको पाइएको छ । तर कुन प्राध्यापक कुन समयमा आउँछन् भनेर उपलब्ध गराउन शिक्षालयले आनाकानी गरेको छ ।

वीरेन्द्रका प्राध्यपकहरु अन्य निजी कलेजमा पनि गोप्यरुपमा अध्यापन गराइरहेका हुन सक्छन् । यस विषयमा पनि सम्बन्धित निकाय, विद्यार्थी र विद्यार्थी संगठनहरु आफै चनाखो भएर खोजी गर्न आवश्यक छ । यसमा विद्यार्थीहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । कक्षा खाली हुने बित्तिकै विद्यार्थीहरुले चासो देखाउन जरुरी छ । कोर्स छिटोछिटो दौडाउन खोजेमा यथार्थता बुझ्न विद्यार्थीहरु चनाखो हुन जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>