Breaking News
काँग्रेसलाई भोटिङ मेसिनको लागेन भर,ड्रमको बिर्को काटेर मतपेटिका

काठमाडौं,मंसिर २७-
कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। सभापति पदका आकांक्षीमध्ये एक डा. शेखर कोइरालाले आफ्नो प्रतिबद्धतापत्रमै ‘डिजिटलाइजेसन’को कुरा उठाएका छन्। तर, १४औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिँदै छ। यसले निर्वाचन प्रक्रियालाई बढी झन्झटिलो, लामो र खर्चिलो बनाउने नेता÷कार्यकर्ताले बताएका छन्।
विद्युतीय मतदान प्रक्रियामा जान अनुरोध गरिए पनि सहमति जुट्न नसकेको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे सुनाउँछन्। ‘हामी त त्यसकै लागि लालयित थियौं। तर, सायद सहमति जुट्न नसकेर होला, उहाँहरू जान मान्नुभएन’, संयोजक घिमिरे भन्छन्।
महाधिवेशन प्रचार–प्रसार समितिले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगमा जान सकिने जानकारी दिएको थियो। तर, शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा कागजी मतदानमै जानुपर्ने भएको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा बताउँछन्।
नेपाल तरुण दलका ओखलढुंगा उपसभापति उत्तमकुमार थापा पार्टीको शीर्ष स्थानमा पुरानै नेताहरू हाबी भएकाले विद्युतीय पद्धतिलाई विश्वास गर्न नसकेको बताउँछन्। समयानुकूल हुन नसक्दा आधुनिक प्रविधिको जमानामा पनि झन्झटिलो र खर्चिलो विधिमै गइरहेको थापाको भनाइ छ। अबको नेतृत्व युवाको काँधमा आयो भने आगामी निर्वाचनहरू मितव्ययी हिसावले गर्न सकिने विश्वास उनी व्यक्त गर्छन्।
नेतृत्वमा युवा हाबी हुनेबित्तिकै नयाँ सोच, नयाँ जिज्ञासा र नयाँ शिक्षा प्रणालीले प्रविधिलगायत विषयमा परिवर्तन ल्याउन सकिने उनको धारणा छ।
केन्द्रीय सदस्यका प्रत्यासी स्याङ्जाका भरत लम्साल विद्युतीय मतदान गराउन नसक्दा निःसन्देह पार्टी पछाडि परेको बताउँछन्। नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका लम्साल नेतृत्वले चाहना राखेन भने युवाले जतिसुकै बल गर्दा पनि त्यो सम्भव नहुने यो एउटा उदारहण रहेको बताउँछन्। यो महाधिवेशनले पुस्तान्तरणको कुरा उठाएर युवालाई नेतृत्वमा पुर्यायो भने कांग्रेसलाई प्रविधिमा अझै दुई कदम अगाडि बढाउन सकिने उनी विश्वास गर्छन्। अन्नपूर्ण पोष्टमा खबर छ ।
























