Breaking News

सडक मानवमुक्त घोषित भरतपुर : महानगरले घोषणा गर्याे, काम गरेन

  • Logo
    app haru
  • २० मंसिर २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर २० –
भरतपुर महानगरपालिका सहयोगापेक्षी सडकआश्रित मावनमुक्त महानगरपालिका घोषणा भएको तीन वर्ष बितिसकेको छ । देशकै पहिलो सडकमानव मुक्त महानगर घोषणा गरेर भरतपुर महानगर र महानगर प्रमुख रेनु दाहालले निकै चर्चा कमाइन् ।

२०७५ कार्तिक ९ गते भरतपुर महानगरले एक भव्य कार्यक्रमको आयोजना गरी घोषणा गरेको थियो । घोेषणा कार्यक्रममा बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलसहित नेकपाका नेता कार्यकर्तालाई अतिथिका रुपमा डाकिएको थियो । घोषणा भए पनि भरतपुरमा सडकमानव छरपस्टै देखिन्छन् ।

सडकमा आएका र आउन सक्ने व्यक्तिहरुको खोजी तथा उद्दार भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम मिलेर गर्ने गरी सम्झौता पनि गरिएको थियो ।

हरेक हप्ताको एक दिन मानव सेवा आश्रमको पहल तथा भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा सहयोगापेक्षी मानवहरुको खोजी तथा परामर्श गरिने बताइएको थियो । केही समय सडकमानव उठाउने काम पनि भयो ।

घोषणा कार्यक्रममा बोल्दै भरतपुरकी मेयर दाहालले घोषणाका लागि घोषणा नगरिएको भन्दै कार्यक्रमलाई निरन्तरता दिइने वाचा गरेकी थिइन् । भरतपुरमा अब कोही पनि नागरिक गाँस, बास र कपासका लागि सडकमा भौतारिनु नपर्ने उनले बताएकी थिइन् ।

सडकबाट ल्याइएका सहयोगापेक्षीहरुको बस्ने व्यवस्थापन मानव सेवा आश्रमले गर्दै आएको छ । भरतपुरको बाइपास रोडमा घर भाडामा लिएर मानव सेवाले आश्रम सञ्चालन गरिरहेको छ ।

सडकमानवमुक्त घोषणा कार्यक्रममा आश्रमको घर भाडा भरतपुर महानगरपालिकाले तिर्ने र अरु व्यवस्था गर्न पनि सहयोग गर्ने मेयर दाहालले बताएकी थिइन् । साथै उद्दारका लागि चाहिने उद्दार वाहन, सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टरको व्यवस्था भरतपुर महानगरले गर्ने मेयर दाहालले घोषणा गरेकी थिइन् भने त्यसैअनुसार मानव सेवासँग सम्झौता भएको थियो । सहायोगापेक्षी मैत्री संरचना बनाउन पनि महानगरले सहयोग गर्ने घोषणा गरेको थियो ।

तर भरतपुर महानगरले घोषणाको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन । मानव सेवा आश्रमले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै भरतपुर महानगरबाट सम्झौताअनुसार सहयोग हुन नसकेको बताएको छ । घोषणापश्चात भरतपुर महानगरपालिकाले सबै खर्च व्यहोरेको जस्तो जनमानसमा सूचना प्रवाह भइरहेको भए पनि यथार्थमा फरक रहेको आश्रमका सचिव एवम् प्रवक्ता सुमन बर्ताैलालले बताए ।

भरतपुर महानगरले अहिलेसम्म न उद्दार बाहनको व्यवस्था गरेको छ न स्क्रिनिङ सेन्टर नै । न संरचना निर्माणमा कुनै पहल गरेको छ । घोषणा गरेर चर्चा कमाएको महानगरले ८/१० लाख बजेट छुट्याएर जिम्मेवारीबाट पन्छिरहेको छ ।

गत आव ०७७/०७८ मा भरतपुर महानगरले आश्रमका लागि १० लाख १६ हजार रुपैयाँ सहयोग गरेको थियो । यस आर्थिक वर्ष ०७८/०७९ मा आश्रमका लागि ८ लाख रकम छुट्याएको छ । उक्त रकम घरभाडाको लागि मात्रै पनि अपुग रहेको बर्ताैलाको भनाइ छ । आश्रममा मासिक प्रतिव्यक्ति १० देखि १२ हजार रुपैयाँ खर्च हुने गरेको बर्ताैलाले बताए । घर भाडा मासिक ८० हजार रुपैयाँ रहेको छ ।

मानव सेवाले अहिले भरतपुर ३ बेलचोकमा आश्रमका लागि भवन निर्माण गरिरहेको छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई पूर्णता दिन मानव सेवाले यही मंसिर २६ गतेदेखि महायज्ञको आयोजना गर्दैछ । स्थानीय तहबाट पर्याप्त सहयोग नभएपछि मानव सेवा आश्रम महायज्ञ गरी रकम संकलन गर्नतर्फ लागेको हो । उक्त भवन निर्माणका लागि बागमती प्रदेश सरकारबाट भने ५० लाख रुपैयाँ अनुदान आएको बर्तौैैलाले बताए । घोषणाका बेला भएको जसरी सम्बन्धित सबै निकायबाट सहयोग नहुँदा भरतपुरलाई पूर्णरुपमा सडकमानव मुक्त राख्न नसकिएको मानव सेवा आश्रमले जनाएको छ । भरतपुरका स्थानीय समाजसेवीहरुकै दान र सहायोगबाट आश्रम चलाइरहेको आश्रमले जनाएको छ ।

सडकमानवमुक्त घोषणा गर्न हतार गरेको भरतपुर महानगर र अरु महानगरमा कसले के गरे ?

हतारहतारमा चर्चा कमाउन कै लागि सडक मानवमुक्त घोषणा गरेको भरतपुर महानगरले सडक मानवमुक्त सहर बनाउन कुनै पनि पहल नगरेको पुष्टि भइसकेको छ ।

मानव सेवा आश्रमले हरेक महानगरमा भवन निर्माणको काम थालिरहेको छ । सबै महानगरले भवन निर्माणमा सहयोग गरेको पाइएको छ । तर भरतपुुर महानगरले नगरेको देखिएको छ । देशमा रहेका ६ वटा महानगरमध्ये ४ वटा महानगर सहयोगापेक्षी सडकमानव मुक्त घोषणा भएका छन् । काठमाडौं र ललितपुर महानगर भने घोषणा हुन सकेको छैन ।

अब अन्य महानगरले सडक मानवमुक्त सहर बनाउन मानव सेवालाई गरेको सहयोगको बारेमा चर्चा गरौं ।

मानव सेवा आश्रमले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिकाले गत वर्ष २५ लाख, यो वर्ष ३० लाख बजेट आश्रमको घरभाडाका लागि छुट्याएको छ । यस्तै १ करोड रुपैयाँ आश्रमको भवन निर्माणका लागि सहयो गरेको छ । ७५ लाख रुपैयाँ आश्रमसम्म पुग्ने सडक निर्माणका लागि सहयोग गरेको छ ।

काठकाडौं महानगरपालिकाले आश्रमको मासिक भाडा १ लाख ८० हजार रुपैयाँ तिर्दै आएको छ । उद्दार वाहन उपलब्ध गराएको छ । शहीद धर्मभक्त माथेमा महानगर मानव सेवा नामक आश्रम भवन आफ्नै लगानीमा बनाएर महानगरले मानव सेवा आश्रमलाई हस्तानान्तर गर्न लागेको छ । जसका लागि जग्गा नागार्जुन नगरपालिकाले उपलब्ध गराएको छ ।

विरगन्ज महानगरपालिकाले आश्रम निर्माणका लागि १८ कठ्ठा जग्गा उपलब्ध गराएको छ । जग्गालाई पर्खाल लगाउने र जग्गासम्म पुग्ने बाटो निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । यस्तै हाल रहेको आश्रमको भाडा तिर्न वार्षिक ६ लाख रुपैयाँ र आश्रम व्यवस्थापनका लागि ६ लाख गरी १२ लाख रुपैयाँ वर्षेनी दिने गरेको छ । उद्दारका लागि चाहिने गाडी र एम्बुलेन्स महानगरले निशुल्क उपलब्ध गराउँदै आएको छ ।

पोखरा महानगरपालिकाले भवन निर्माणका लागि ५० लाख सहयोग गरेको छ । गण्डकी प्रदेशनै सडक मानवमुक्त घोषणा गरिएको छ । पोखरा महानगरले छुट्टै घोषणा गरेको थिएन ।
ललितपुर महानगरपालिकाले ७ लाख रुपैयाँ हरेक वर्ष घरभाडाका लागिमात्रै रकम दिने गर्छ । अन्य सहयोगहरु पनि महानगरले गरिरहेको मावन सेवा आश्रमले जनाएको छ ।

मानव सेवा आश्रममा ६० प्रतिशत आम सर्वसाधारण र ४० प्रतिशत तीनै तहका सरकारको सहयोग रहेको बर्ताैलाले जानकारी दिए । मानव सेवा आश्रम नेपाललाई नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने अभियानमा लागि रहेको छ । जसको अभियानलाई सरकारले पनि साथ दिएको छ ।
मानव सेवा आश्रमको ७ वटा प्रदेशका १७ जिल्लामा २५ वटा सेवा केन्द्र रहेका छन् ।

तीनमा १ हजार ७ सय जना आश्रित छन् । उनीहरु विशुद्ध सहयोगापेक्षीमात्र भएको बर्ताैलाले बताए । मानव सेवा आश्रमले सहयोगको अपेक्षा गरेर सडकमा भौतारिन बाध्य परिवारविहिन मानिसहरुलाई मात्र राख्ने गर्दछ । चितवनको आश्रममा हाल ५९ जना रहेका छन् । नयाँ बन्दै गरेको भवनमा १०० जना राख्न सकिने आश्रमका प्रवक्ता बर्तौलाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>