Breaking News

भरतपुर सिटीहल निर्माण सुस्त गतिमा : एक वर्षमा मात्र २४ प्रतिशत काम, म्याद सकिन १५ महिना बाँकी

  • Logo
    app haru
  • १९ मंसिर २०७८, आइतबार
Banner

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर १९ –
|भरतपरमा निर्माण भइरहेको सिटीहल (सभाहल) को काम एक वर्ष पुग्दा मात्र २४ प्रतिशत काम सकिएको छ ।

सिटीहल निर्माण कार्यमा खटिएका इन्जिनियर प्रविन गुरागाईंले हालसम्म २४ प्रतिशत काम सकिएको जानकारी दिए । कुनै भागमा छत ढलाइको काम सुरु भइसकेको छ भने कतै अझै जगमा माटो भर्ने कम भइरहेको छ । इन्जिनियर गुरागाईंले माटो भर्ने काम ९५ प्रतिशत सकिएको बताए ।

गत वर्ष (२०७७) को मंसिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग २७ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ८७ करोड ८८ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । अब उक्त सम्झौता मिति सकिन १५ महिना बाँकी छ ।

१२ महिनामा २४ प्रतिशतमात्र काम सम्पन्न हुँदा सिटीहल निर्माण सयममै सकिनेमा आशंका उत्पन्न भएको छ । सुरुवाती महिनाहरुमा सिटीहल निर्माणको काम तीव्ररुपमा धमाधम भइरहेको थियो । ४ महिनामै १५ प्रतिशत काम सकिएको थियो । निषेधाज्ञाका बेला पनि काम भइरहेको थियो । तर पछिल्लो समय निर्माणको कामले गति लिन सकेको छैन ।

निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीका सञ्चालक सहदेव खड्काले समयावधि भित्रै काम सम्पन्न हुने दाबी गरेका छन् । वर्षातको समयमा काम केही सुस्त हुँदा प्रगति कम देखिएको बताउँदै उनले अब हिउँदमा कामलाई तीव्ररुपमा अगाडि बढाइने बताए । सिटीहल निर्माणमा कम्पनीले ६० जना कामदारसहित ६ जना इन्जिनियर खटाएको खड्काले जानकारी दिए ।

देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने संघीय सरकारको योजना र भरतपुर महानगरको पहलमा सिटी हल निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका– १० मा जिल्ला समन्वयन समितिको जग्गामा संघीय सरकारको बजेटमा सिटीहल निर्माण भइरहेको छ । सिटीहल निर्माणको शिलान्यास पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले सिटी हल निर्माणको अनुगमन र निरीक्षण गरिहरको छ । सिटी हल निर्माण स्थलमा आयोजनाले २ जना सरकारी इन्जिनियर खटाएको छ ।

भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सिटीहलमा दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ । २५ मिटर अग्लो सिटी हलमा २०/२० क्षमताको दुई वटा लिफ्ट राखिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>