जोडिनुहोस

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, बैशाख २५ :
चितवनमा निषेधाज्ञाका बेला भरतपुर सिटीहल निर्माणको काम जारी छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले यसको जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १५ देखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै व्यावासय तथा यातायात बन्द गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु खोल्न दिइएको छ भने खाद्य पसलहरु बिहान ९ बजेसम्म खुलेका छन् । यस्तो अवस्थामा चितवनमा निर्माणाधिन अवस्थामा रहेका केही संरचनाहरुको काम भने जारी छ । त्यसैमध्येको एक हो भरतपुर महानगरपालिका– १० मा निर्माणाधिन भरतपुर सिटीहल (सभाहल) ।

सिटीहल निर्माण कार्यमा खटिएका इन्जिनियर प्रविन यादवले सिटीहल निर्माण समयमा सक्ने भन्ने सरकारको आदेश भएकाले त्यसैअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले पनि सहयोग गरेको बताए । कोभिडको जोखिमलाई विशेष ध्यान दिएर निर्माणको काम गरिरहेको उनको भनाइ छ ।

निषेधाज्ञाका कारण कर्मचारी ल्याउन भने नसकिएको इन्जिनियर यादवले बताए । यस्तै स्थानीय स्तरमा किनिने समान किन्न समस्या भएको उनको भनाइ छ । ‘निषेधाज्ञा पहिलेभन्दा अहिले कामदार थोरै छन् । निषेधाज्ञा हुन्छ भनेपछि केही कर्मचारी घर गए ।’ उनले भने, ‘हाल ४०/४५ जनाले काम गरिरहेका छन् ।’ उनले पानी नपरेको बेला राती ९/१० बजेसम्म काम गरिएको बताए ।

हालसम्म १५ प्रतिशत काम भएको उनले बताए । निर्माणको काम सुरु भएको साँढे ४ महिनामा १५ प्रतिशत काम भएकोलाई आधार मानेर भन्दा काम समयमा नै सम्पन्न हुने इन्जिनियर यादव बताउँछन् । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्ष (२०७७) को मंसिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियर यादवले वर्षातमा काम नरोकिने गरी काम भइरहेको बताए । ‘वर्षाले कामलाई अवरोध नगरोस, खनेको खाल्टोलाई नपुरोस भनेर हामी वर्षा अघि नै खाल्टोबाट माथि निस्कौं भन्ने योजनामा लागेका छौं’ उनले भने, ‘संभवत जेष्ठ महिनाभरिमा कोलुमको पनि प्लेट उठाइ सक्छौं ।’

सरकारले देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने योजना बनाएको छ । संघीय सरकारको सो बहुवर्षीय योजना अन्र्तगत भरतपुरमा पनि सिटी हल निर्माण कार्य अगाडि बढाइएको हो । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा संघीय सरकारको बजेटमा सिटी हल निर्माण गर्न लागिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले सिटी हल निर्माणको अनुगमन र निरीक्षण गरिहरको छ । निरीक्षणमा खटिएका सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सुजन चापागाईंले हालसम्म काम राम्रोसँग नै भइरहेको बताए ।

भरतपुरको गौरवको आयोजनाको रुपमा रहेको सिटीहलमा दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ । २५ मिटर अग्लो सिटी हलमा २०/२० क्षमताको दुई वटा लिफ्ट राखिने बताइएको छ ।

   

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.