Breaking News

आजदेखि चितवनबाट बाघ गणना सुरु हुँदै, ६ सय क्यामेरा प्रयोग हुने

Banner

चितवन,मंसिर १९-

आजदेखि राष्ट्रिय बाघ गणना सुरू हुँदै छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट औपचारिक कार्यक्रम गरी बाघ गणना सुरु गर्न लागिएको हो । क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ गणनामा छ सय क्यामेरा प्रयोग गरिनेछ ।

बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका डा. रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको छ । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गणनाका लागि आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग हुनेछ । गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म राखेर आवतजावत गर्ने बाघको तस्विरलाई कैद गर्ने र पछि फोटो हेरेर बाघको संख्या यकिन हुनेछ । गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, प्रशिक्षार्थी विद्यार्थीहरु, नेचर गाइडहरु सहभागी हुनेछन् ।

देशभर बाघ गणनाका लागि करिब चार करोड रुपैयाँ खर्च हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र जुलोजिकल सोसाइटी अफ लण्डन(जेडएसएल)ले खर्च गर्नेछन् । सन् २०१८ मा गरिएको गणना अनुसार देशभर गरिएको गणनामा २३५ वटा बाघ भेटिएका थिए । चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए ।

देशभर एक वर्षको अवधिमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । धेरैजसो बाघको आक्रमणको घटना साँझ, बिहान बाघ सक्रिय हुने समयमा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिनुभयो । ‘निकुञ्ज क्षेत्रमा आवतजावत गर्न मनाही छ । तर, माछा मार्ने, निगुरो र साग टिप्नेहरू जंगलभित्र पुग्दा आक्रमणमा परेका छन्,’ उहाँले भन्नुभयो ।

सबैभन्दा धेरै बर्दिया र चितवनमा मान्छे–बाघ द्वन्द्व छ । असामान्य समयमा मानवीय क्रियाकलाप बढेका कारण घटना भएको ढकालको बुझाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>