Breaking News
२१ करोडको लागतमा दिव्यनगर खानेपानी आयोजना शिलान्यास,एक हजार ८५५ घरधुरीले शुद्ध खानेपानी पाउने

चितवन,मंसिर १८-
भरतपुर महानगरपालिका २६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज (शनिवार) नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गर्नुभएको हो । आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको भन्दै धमाधम आयोजनाहरु शिलान्यास भइरहेको बताउनुभयो । जिल्लाको विकासका लागि स्थानीय,प्रदेश र संघिय सरकारबाट करोडौं बजेट विनियोजन भएको दाहालले जानकारी दिनुभयो ।
२० करोड ९८ लाख ४१ हजार १८१ रुपैंयाको लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारले ९० प्रतिशत र उपभोक्ताले १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण गर्ने जिम्मा भिमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा तीब्र विकास भइरहेको भन्दै कालोपत्रे र ग्राभेलमा कायापलट गरेको दावी गर्नुभयो । उहाँले महानगरको एकमात्र उदेश्य विकास निर्माण रहेको भन्दै आवश्यकताका आधारमा हरेक क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभयो । भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले दिव्यनगर खानेपानी आयोजना निर्माणपछि एक हजार ८५५ घरधुरीले शुद्ध खानेपानी पाउने बताउनुभयो ।


























