Breaking News

आज बालाचर्तुदशी,देवघाटमा सतविज छर्नेको घुइँचो

Banner

चितवन,मंसिर १७-

आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाममा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको बिहिबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको संख्या ४० हजार बढि थियो । भक्तालुहरु रातभर जाग्राम बसी दिप प्रज्वलन गरेका छन् । रातिदेखि बस्ने र बिहानै देबघाट पुग्नेको भीड लागेको छ ।

यसबर्षदेखि देवघाट क्षेत्र विकास समितिले सद्बीज छर्नका लागि मणि मुकुन्देश्वर चक्रवर्ती मन्दिर परिसरमा सत्बीज मार्ग निर्माण गरेको छ । यस्तै सत्बीज छर्न आउने भक्तजनहरुलाई समितिले निःशुल्क चियाको समेत व्यवस्था गरेको निर्देशक घिमिरेले बताउनुभयो ।

सद्बीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको देवघाट क्षेत्र विकास समितका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।

गतबर्षको तुलनामा यसबर्ष सतविज छर्न देवघाट आउने भक्तजनको सङख्या उल्लेख्य बृद्धि भएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । ‘दुई बर्ष कोरोनाका कारण भक्तजनहरु आउनसक्ने अवस्था भएन,उहाँले भन्नुभयो’,यसबर्ष कोरोना कम भएका कारण बेलुकादेखि नै भीड भएको हो ।’ बर्षेनी देवघाटधाम तीर्थको महत्व बढ्दै गएको उहाँको भनाई छ । चितवन, तनहुँ, नवलपुर, मकवानपुर लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु देवघाटमा स्नानका लागि आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिले सतविज छर्न आउने भक्तजनलाई मध्यनजर गर्दै खानेपानी, वत्ती, प्राथमिक स्वास्थ्य, सुरक्षा लगाएतको प्रवन्ध गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>