Breaking News
एमाले अध्यक्ष ओलीले भनेः वरिष्ठ उपाध्यक्ष पद खारेज गरौं

चितवन,मंसिर १२-
वरिष्ठ उपाध्यक्षमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त पद नै खारेज गर्न सुझाव आएको छ। सुवाचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षको अडान नछोडेपछि महासचिव इश्वर पोखरेलले उक्त पद नै खारेज गर्न ओलीलाई सुझाव दिएका हुन्। ओलीले इश्वर पोखरेललाई उपाध्यक्ष दिने कुरा भएको स्रोतले बताएको छ। त्यसबाहेक उपाध्यक्ष, महासचिव र सचिवका आकांक्षीहरु पनि धेरै भएकाले ओलीलाई सकस भएको छ।
हुन त कमिटीको टुंगो लगाउन ओलीले आफू निकट चार नेतालाई जिम्मेवारी दिएका थिए। विष्णु पौडेल, शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले कमिटीको खाका तयार पारेका छन्। उक्त खाका अध्यक्ष ओलीलाई बुझाइएको छ। ओलीले रुजु गरेर आजै साँझ बस्ने बन्दसत्रमा सुनाउने बताइएको छ।
यता अध्यक्षका दाबेदार रहेका भीम रावले उक्त नामावली आफूले नमान्ने बताएका छन्। उनले निर्वाचनको माध्यमबाटै कमिटीको टुंगो लगाउनुपर्ने बताएको उनी निकट नेताहरुले बताएका छन्। त्यसो नगरिए बन्दसत्र बहिष्कार गर्ने चेतावनीसमेत दिइएको बताइएको छ।



























