Breaking News
सहमतिमै नयाँ कार्यसमिति घोषणा हुन्छः एमाले सचिव भट्टराई

सौराहा,मंसिर १२-
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिबाटै घोषणा हुने बताएका छन्। चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिजोको बन्दसत्रको हलले अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएकाले त्यहीअनुसार हुने बताएका हुन्।
‘अध्यक्ष ओलीले अरु आकांक्षीसँग कुरा गर्नुहोला, पार्टीमा संवादहीनताको अवस्था रहन दिनुहुन्न भन्नुभएको छ,’ उनले भने, ‘अध्यक्षलाई अरुले सहयोग गर्नुपर्यो, अरुलाई अध्यक्षले सहयोग गर्ने हो।’
आफूहरुले अध्यक्षलाई पनि सबैलाई सहमतिमा लैजान सुझाव दिएको उनले बताए। ‘अध्यक्षले जिम्मेवारी आफैंले लिएकाले उहाँले सबैसँग संवाद गर्नुहोला भन्ने लागेको छ,’ भट्टराईले भने, ‘जबजले पनि यही भन्छ, मलाई सर्वसम्मत हुन्छ भन्ने लाग्छ। हिजो २२ सय प्रतिनिधिले यही म्याण्डेट दिएका हुन्।’
























