Breaking News
चितवनमा एमाले महाधिवेशनको सुरक्षा कमाण्ड गर्दै एआइजी र दुई डिआइजी

चितवन, मंसिर ९ –
भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनको सुरक्षा कमाण्ड एआइजी र दुई डिआइजीको कमाण्डमा हुने भएको छ ।
एआइजी सहकुल थापा, डिआइजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको हो ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुने छ । डिआइजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैंडाकोट क्षेत्रको सुरक्षा कमाण्ड समाहल्ने जनाइएको छ ।
महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिनमात्र बाँकी रहेको जानकारी दिनुभयो ।
‘आजदेखि भिआइपीको मुभमेन्ट हुन्छ । प्रधानमन्त्री लगायतका शिर्ष तहाका नेताहरु आउने भएका कारणले पनि भिआइपीको सुरक्षाका लागि विशेष टिम तयार गरेका छौं’ उहाँले भन्नुभयो ।
भिआइपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने उहाँले बताउनुभयो । जिल्लामा महाधिवेशन लक्षित १५ सय सुरक्षाकर्मी परिचालन गरिँदै छ ।
यसबाहेक सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।



























