Breaking News

साढे दुई करोडको लागतमा भरतपुर ११ मा केरुङ्गा घोल व्यवस्थापनको काम सुरु, सांसद सुवेदीले गरे शिलान्यास

Banner

चितवन, मंसिर ६ –

भरतपुरमा रहेको केरुङ्गा घोल संरक्षणका लागि रिटेनिङ वाल लगाउने काम सुरु भएको छ । उक्त कामको आज सोमबार प्रदेश सभा सांसद विजय सुवेदीले शिलान्यास गरेका छन् । प्रदेश सरकारको बजेटमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन भरतपुरमार्फत उक्त काम हुन लागेको हो ।

शिलान्यास गर्दै सांसद विजय सुवेदीले भरतपुरमा तीव्र शहरी विकास भइरहेकाले भविष्यमा केरुङ्गा खोलाको संरक्षणमा चुनौती थपिने हुँदा अहिलैबाट यसको संरक्षणमा जुटेको बताए ।

भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा रहेको केरुङ्गा खोलाको हाल ७ सय मिटरमामात्र वाल लगाउन लागिएको हो ।

सांसद सुवेदीले यो दीर्घकालीन योजना रहेकाले भविष्यमा जगतपुरसम्मै वाल लगाइने बताए । वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा परिरहन्छन् । यहाँको डुबान उक्त खोलाबाट पार हुने गरी ड्रेन बनाउने योजना रहेको सांसद विजय सुवेदीले बताए ।

उनले खोलामा फोहोर पानी हाल्नै परे प्रशोधन गरेरमात्र हाल्नुपर्ने बताए । वर्षातमा वर्षातको पानी पास हुन्छ भने हिउँदमा नारायणी लिफ्टको पानी राख्ने योजना रहेको सांसद सुवेदीले जानकारी दिए । उनले भरतपुर २४ को धु्रवमा अस्थायी किसिमको तलाउ बनाउने योजना समेत रहेको बताउँदै त्यसको डिपिआर बनाउने काम भइरहेको जानकारी दिए । यसको सही व्यवस्थापन गरेर ढलको पानीलाई निर्मलीकरण गर्दै केरुङ्गा खोलामा फाल्न सकेमा भरतपुरका विभिन्न क्षेत्रमा हुने डुबानको पनि व्यवस्थापन गर्न सकिने उनले बताए ।

केरुङ्गा खोलको ड्रेनको डीपीआरको काम सकिएको छ। यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने प्रदेश सांसद विजय सुवेदीको भनाइ छ । उनले भने, ‘केरुङ्गा खोलालाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ ।’

सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस खोलाको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए । उनले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा खोलालाई व्यवस्थित बनाउने बताए । उनले भने, ‘ शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै खोलामा मिसाइने छ । जसबाट जल प्रदूषणमा समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि डुंगा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।’

फोहोर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । सांसद विजय सुवेदीका अनुसार अब फोहोर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ । ढल मिसावट फोहोर पानीका लागि टनेल बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी बनाइने सांसद विजय सुवेदीले बताए ।

व्यवस्थित बन्ने भनिएको केरूङ्गामा डुंगा सयर, दुवैतर्फ पार्क निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनी सप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । जसको डिपिआर बनिसकेको छ । भरतपुर महानगरका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं. ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन भरतपुरका प्रमुख विनय पौडेलले अहिले गर्न लागिएको कामको जिम्मा भद्रकाली निर्माण सेवाले पाएको जानकारी दिए । यही आर्थिक वर्षमा सक्ने गरी २ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>